2006-03-02 - press release - NHRC२०६२-११-१८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20113 अभिलेखालय सि. नं.: NCA-20113

मिति: 2006-03-02
आयोगको क्षेत्रीय कार्यालय स्थापना, २०६२ फागुन १८

धनगढी, फागुन १८ गते। राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमाञ्चल क्षेत्रका लागि धनगढीमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ। सो कार्यालयको धनगढीमा आयोजित एक समारोहबीच आयोगका सदस्य सुदीप पाठकले हिजो उदघाटन गर्नुभयो।

सो अवसरमा उहाँले द्वन्द्वरत दुवै पक्षलाई मानव अधिकारप्रति सचेत र प्रतिबद्ध बनाउन तथा सो अनुरूपको व्यवहार गराउन आयोगले ध्यान केन्द्रीत गरेको जानकारी दिनुभयो।

गत जेठ यता मात्र आयोगले १३२ वटा अनुगमन सम्पन्न गरेको, मानव अधिकार उल्लंघनका विभिन्न १६ घटनामा अनुसन्धानपछि कारवाही र क्षतिपूर्तिका लागि सिफारिस गरेको, ६५० उजुरीहरू किनारा लगाएको र ४५ जिल्लाको अनुगमन सम्पन्न गरेको जानकारी पनि उहाँले दिनुभयो।

उहाँले आयोग मानव अधिकारको संरक्षण र प्रबर्द्धन गरी मुलुकमा मानव अधिकार संस्कृति निर्माण गर्न निरन्तर लागिरहेको बताउनुभयो। सदस्य पाठकले आम जनताको जनजीवन प्रभावित हुने किसिमको कुनै काम नगर्न द्वन्द्वरत पक्षलाई आग्रह गर्नुभयो। आयोगले तयार पारेको मानव अधिकार सम्झौतापत्रमा हस्ताक्षर गरी मानव अधिकारप्रति आफ्नो तर्फाट प्रतिबद्धता जाहेर गर्न पनि उहाँले आग्रह गर्नुभयो।

आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले सो विकास क्षेत्रमा भएका मानव अधिकार उल्लंघनका सम्बन्धमा उजुरी लिने, मानव अधिकारको अवस्थाको अनुगमन गर्ने र मानव अधिकार प्रबर्द्धनका कार्यक्रमहरूमार्फ मानव अधिकार संस्कृति निर्माणमा सघाउ पुर्‍याउनेछ - उहाँले भन्नुभभयो।

उदघाटन कार्यक्रममा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी मणिकुमार शर्मा, शाही नेपाली सेनाका पूर्व प्रवक्ता एवं श्रीनगर ५ नं. वाहिनीपति दिपक गुरूङ्ग, नेपाली काङ्ग्रेसका हिरादत्त भट्ट, राष्ट्रिय जनमोर्चा नेपालका रणराज भट्ट, ने.क.पा. (एमाले) का दिपक देवकोटा, नेपालस्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयका प्रतिनिधि मेट्टे डेमगार्ड, शान्तिका लागि नागरिक समाजका अध्यक्ष सरोज पोखरेल, नेपाल बार एसोसिएशन धनगढीका पूर्व अध्यक्ष नीलप्रसाद तिवारी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव दिर्घराज उपाध्याय, जिल्लास्थित गैर सरकारी महासंघका प्रतिनिधि रमेश बस्नेत, नेपाल प्राध्यापक संघ कैलालीका देवराज अवस्थी, जिल्लास्तिथ वियोण्ड वेजिङ कमिटीका उदया ओली, जिल्लास्थित उधोग वाणिज्य महासंघका प्रतिनिधि हरिप्रसाद भट्ट, एनएनडीएसडब्लूओ कैलालीका हरि श्रीपाइली र आदिवासी जनजाति महासंघ जिल्ला उपाध्यक्ष टेण्डी शेर्पाले आयोगको क्षेत्रीय कार्यालय स्थापनाप्रति खुशी व्यक्त गर्दै आयोगलाई आ-आफ्नो तर्फाट मानव अधिकार संरक्षण र सर्म्बर्द्धनका लागि सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोगले आफनो पहुँच विस्तारका सिलसिलामा सुदूरपश्चिम क्षेत्रका लागि हिजो विधिवत रूपमा यो क्षेत्रीय कार्यालय स्थापना गरेको हो। यस अघि नै आयोगले पूर्वाञ्चल क्षेत्रका लागि विराटनगर, पश्चिमाञ्चल क्षेत्रका लागि पोखरा र मध्यपश्चिमाञ्चल क्षेत्रका लागि नेपालगञ्जमा क्षेत्रीय कार्यालयहरू स्थापना गरी काम गरिरहेको छ। आयोगले पहुँच विस्तारकै सिलसिलामा जुम्ला, रोल्पा, वुटवल, धनुषा र खोटाङ्गमा पनि सर्म्पक कार्यालयहरू स्थापना गदैंछ। यसक्रममा जुम्लास्थित सर्म्पक कार्यालयको उदघाटन यही फागुन १९ गते गर्ने कार्यक्रम रहेको छ।