2006-02-17 - press release - INSEC२०६२-११-०५ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20096 अभिलेखालय सि. नं.: NCA-20096

प्रेस विज्ञप्ति

०६२ फागुन ५ गते

प्रेस विज्ञप्ति

पूर्वाञ्चलका अपहरित क्षेत्रीय सहायक प्रशासक प्रेमप्रसाद सापकोटाको माओवादीको कब्जामा रहेको अवस्थामै ०६२ फागुन ५ गते धनकुटा जिल्लाको राजारानी क्षेत्रमा मृत्यु हुनुले अन्तर्राट्रिय मानवीय कानुनको जघन्य उल्लंघन भएको ठहर इन्सेकको रहेको छ।

माओवादीले सापकोटाको मृत्यु दमको रोगका कारण भएको सन्देश सम्प्रेषण गरेको छ। आफ्नो कब्जामा रहेको व्यक्तिको सुस्वास्थ्य र जीवनका सम्बन्धमा सम्पूर्ण जिम्मेवारी लिनु पर्ने जेनेभा महासन्धिमा स्पष्ट बताइएको पृष्ठभूमिमा सापकोटाको मृत्यु माओवादीबाट बताइएझैं दमको कारणले नै भएको भए तापनि माओवादी नेतृत्व जिम्मेवारीबाट पन्छन पाउँदैन। इन्सेक यस घटनाका सन्दर्भमा माओवादीलाई कडा निन्दा र भर्त्सना गर्दछ। साथै, आफ्नो कब्जामा रहेको अवस्थामा यसरी निहत्था, निशस्त्र व्यक्तिको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिन, घटनाको निष्पक्ष छानबिन गर्न र दण्डहीनतालाई बढावा नदिन पनि इन्सेक आह्वान गर्दछ। मृतक सहायक क्षेत्रीय प्रशासक सापकोटाको शव तत्काल परिवारजनलाई हस्तान्तरण गर्न पनि इन्सेक माग गर्दछ।

माओवादीले धनकुटा आक्रमणको क्रममा माघ २५ गते सापकोटासहित १५ जना कर्मचारी तथा सुरक्षाकर्मीलाई अपहरण गरेका थिए। अपहरण गरिएकामध्ये ११ जना दुईपटक गरेर मुक्त भए तापनि सापकोटा तथा अन्य तीनजना सुरक्षाकर्मी भने माओवादीकै नियन्त्रणमा रहेका थिए। अहिले सापकोटाको मृत्युले माओवादीको कब्जामै रहेका अन्य तीनजनाको स्थिति के हुने हो भन्ने सम्बन्धमा पनि आशंका उब्जिएको छ। इन्सेक माओवादी कब्जामा बाँकी रहेका तीनैजनालाई तत्काल बिनाशर्त रिहा गर्न माग गर्दछ।

सुबोधराज प्याकुरेल
अध्यक्ष