2006-01-30 - press release - NHRC२०६२-१०-१७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20059 अभिलेखालय सि. नं.: NCA-20059

मिति: 2006-01-30
आयोगका पदाधीकारीहरूबाट थुनवा केन्द्रहरूको अनुगमन, २०६२ माघ १७

ललितपुर, माघ १७, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले विगत केही दिन देखि विभिन्न थुनुवा केन्द्रहरूमा राखिएका व्यक्तिहरूको मानव अधिकार अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ। यसै क्रममा आज आयोगका सदस्यहरू सुशीला सिंह सिलु, सुदिप पाठक र डा. रामदयाल राकेशसहित अधिकृतहरू संलग्न टोलीले सशस्त्र प्रहरी गण दुवाकोटको पुनः अनुगमन गर्‍यो। त्यहाँ गरिएको अनुगमनका आधारमा आयोगले आज श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निम्नानुसार सिफारिस गरी पठाएको छ।

*
थुनामा राखिएका व्यक्तिहरूका लागि उपलब्ध पिउने पानी अयोग्य रहेको र अधिकांश थुनुवाहरू अशुद्ध पिउने पानीका कारण अस्वस्थ भएको बुझिएकाले तत्काल शुद्ध पिउने पानीको व्यवस्था गर्न।
*
थुनुवाहरूलाई राखिएको स्थानमा शीत चुहिने भएकाले तत्काल त्रिपाल लगायत आवश्यक व्यवस्था गरी थुनामा राखिएका व्यक्तिहरूलाई शीतमुक्त ठाउँमा राख्ने व्यवस्था गर्न।
*
थुनामा राखिएका व्यक्तिहरूका लागि उपलब्ध शौचालय टाढा भएकाले तत्कालै उपयुक्त व्यवस्था गर्न।
*
थुनामा राखिएका व्यक्तिहरूलाई सबैसँग भेट गर्न पाउने तथा सम्पूर्ण पत्रपत्रिका पढन पाउने, रेडियो सुन्न पाउने र टेलिभिजन हेर्न पाउने व्यवस्था गर्न।
*
थुनामा राखिएका अस्वस्थ व्यक्तिहरूलाई तत्काल चाहेको चिकित्सकबाट स्वास्थ्य उपचार गराउने व्यवस्था मिलाउने र सम्पूर्ण थुनुवाहरूको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन।

आजको अनुगमनका क्रममा अस्वस्थ भेटिनु भएका व्यक्तिहरू

१) प्रभुनारायण चौधरी २) विमलेन्द्र निधि

३) गोपाल शाक्य ४) मीठाराम शर्मा बजगाईं

५) सुवास नेम्वाङ्ग ६) युवराज कार्की

७) ओम थपलिया ८) अमीयकुमार यादव

९) लगन चौधरी १०) रामकुमारी झाँक्री

११) विदुर मैनाली

ध्रुव नेपाल

निमित्त सचिव