2006-01-28 - press release - INSEC२०६२-१०-१५ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20058 अभिलेखालय सि. नं.: NCA-20058

प्रेस विज्ञप्ति

०६२ माघ १५ गते

प्रेस विज्ञप्ति

मानवअधिकारकर्मीहरूलाई एमाले महासचिवसँग भेटघाट गर्न दिइएन

मानवअधिकार जोगाऔं आन्दोलन(नेपालको संयोजनमा आज दिउँसो मानवअधिकारकर्मीहरूको टोलीले विभिन्न स्थानमा राखिएका राजनीतिक बन्दीहसँग भेटघाट गर्ने प्रयास गर्‍यो। राष्ट्रिय मानवअधिकार आयोगका पूव सदस्य सुशील प्याकुरेलको नेतृत्वमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेललगायत डा.ऋषि अधिकारी, टीकाराम भट्टराई, कुन्दन अर्याल र शोभाकर बुढाथोकी सम्मिलित टोलीलाई आफ्नै निवासमा बन्दी अवस्थामा राखिनु भएका एमाले महासचिव माधवकुमार नेपालसँग भेट गर्न दिइएन। राष्ट्रिय मानवअधिकार आयोग, रेडक्रसको अन्तराष्ट्रिय समिति र संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चायोगका प्रतिनिधि वाहेक कसैलाई भेट्न नदिनु भन्ने उपत्यका डि आइ जी दिलिपकुमार श्रेष्ठको आदेश छ भन्दै टोलीलाई प्रहरी इन्सपेक्टर सुधीर सुवेदीद्वारा फर्काइयो।

टोलीलाई गुह्येश्वरी गण दुवाकोटमा डि एस पी राजेश तण्डुकारद्वारा सोही व्योहरा दोहोर्‍याई राजनीतिक बन्दीहरूसँग भेट्न दिइएन। मानवअधिकारकर्मीहरूको टोलीले प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिएका रामचन्द्र पौडेल, नरहरि आचार्य, डा. मथुराप्रसाद श्रेष्ठ, ओमकार श्रेष्ठ, तीर्थराम डंगोल, बलदेव मजगैयाँ, हरि आचार्य, प्रेम सुवाल, डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, हृदयेश त्रिपाठी, लक्ष्मण घिमिरे, एनपी सावद, योगेश भट्टराई, रूपनारायण श्रेष्ठ, महेन्द्र यादव, शिवचन्द्र मिश्रलगायतका राजबन्दीहरूसँग भेटी हिरासतको वस्तुस्थितिको अवलोकन गर्‍यो। टोली प्रहरी प्रशिक्षण प्रतिष्ठानका दईटै हिरासत केन्द्रहरूमा पुगेको थियो। दुवै हिरासत केन्द्रहरूमा बाह्य सञ्चार सर्म्पर्कमा बन्देज लगाइएको र पत्रपत्रिकामा समेत रोक लगाइएको पाइयो। ती हिरासत केन्द्रहरूमा कान्तिपुर र काठमाण्डौ पोष्टउपर विशेष रोक लगाइएको पाइयो। तीन महिने थुनुवा पूर्जी थमाइएको भए पनि राज्यले हिरासतमा कारागार ऐन ०१९ र कारागार नियमावली ०२० अनुसारका न्यूनतम सुविधाहरूसमेत उपलब्ध नगराइएको देखियो।

कुन्दन अर्याल
महासचिव इन्सेक
मानवअधिकार जोगाऔं आन्दोलन - नेपालका तर्फबाट