2006-01-17 - press release - INSEC२०६२-१०-०४ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20042 अभिलेखालय सि. नं.: NCA-20042

प्रेस विज्ञप्ति

०६२ माघ ४ गते

प्रेस विज्ञप्ति

सरकारले मुलुकका सात राजनीतिक दलहरूद्वारा घोषणा गरिएका शान्तिपूर्ण विरोध प्रदशनहरूलाई रोक्ने नियतले ०६२ माघ ३ गतेदेखि राजधानी लगायत मुलुकका प्रमुख शहरहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको २४ घण्टा बित्न नपाउँदै सात राजनीतिक दलका कार्यकर्ताहरूलाई अन्धाधुन्ध गिर्फतार गर्न थालेको छ। शान्तिपूर्ण विरोधसभामा भाग लिन जाने क्रममा ०६२ माघ ४ गते अपराह्न हाँडीगाउँबाट नेपाली कांग्रेसका नेता नरहरि आचार्य, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य एनपी सावदसहित तीनजना र नयाँबानेश्वरबाट नेकपा (एमाले) का योगेश भट्टराईलगायत राजनीतिक नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

अनिश्चितकालीन निषेधाज्ञाको र कर्फ्यू आदेशको आडमा मुलुकका प्रमुख दलका शान्तिपूर्ण विरोध कार्यक्रमलाई रोक्ने र राजनीतिक कार्यकर्तालाई त्रसित तुल्याउन जथाभावी गिरफ्तार गर्ने सरकारी रवैयाले शान्तिपूर्ण रूपमा भेला, सम्मेलन र विरोध प्रदर्शन गर्न पाउने नागरिकहरूको संवैधानिक हकलाई सम्पूर्ण रूपमा कुण्ठित गरेको छ। यति मात्र होइन, असंवैधानिक सरकारले देखाएको पछिल्लो रबैयाले जनताको आधारभूत मानवअधिकारको समेत ठाडो उल्लंघन भएको छ।

सरकारले जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेश र राजनीतिक दलका कार्यकर्ताको जथाभावी गिरफ्तारीको हामी एकैसाथ कडा विरोध जनाउँछौ। साथै, शान्तिका पक्षधर राजनीतिक दलका शान्तिपूर्ण विरोध प्रदशनलाई रोक्ने नियतले जारी कर्फ्यू तथा निषेधाज्ञाको आदेश तत्काल फिर्ता गर्न र गिरफ्तार गरिएका सम्पूर्ण राजनीतिक कार्यकर्तालाई शीघ्र रिहा गर्न माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष