2005-12-16 - press release - CPN-M२०६२-०९-०१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20919 अभिलेखालय सि. नं.: NCA-20919

तामाङ राष्ट्रिय मोर्चा, नेपाल

प्रेस वक्तव्य

भर्खरै भक्तपुरको नगरकोटमा शाही सेनाको हत्यारो दस्ताले गरेको जघन्य, नृशंस नरसंहार र जथाभावी रुपमा मच्चाएको आतंकको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ। चिहानडाँडाको काली मन्दिरमा प्रत्येक वर्ष मनाइने स्थानीय जनताको साँस्कृतिक मेलापर्वमा नै हस्तक्षेप गरी शुरुमा महिलाहरुमाथि हातपात र अश्लील व्यवहार गर्ने र त्यसको विरोध गर्दा ६ जनालाई छुरी रोप्ने अनि फेरि ब्यारेकबाट १५ जना शाही सेना स्वचालित हतियार र गुण्डादल ल्याएर जनताको विशाल समूहमाथि चारैतर्फबाट अन्धाधुन्द गोली प्रहार गर्दै पाँच वर्षीया बालिकादेखि ५२ वर्षका वृद्धहरुलाई समेत हत्या गरी अन्त्यमा आफ्नै सिपाहीले एक जवानको हत्या गरेर सम्पूर्ण दोष त्यही एउटा जवानको मात्र देखाएर अन्य सबै हत्याराहरुलाई जोगाउने षड्यन्त्र गर्नु शाही सत्ताको ज्यादतिको पराकाष्ठा हो।

उक्त हत्याकाण्डमा उत्पीडित र तामाङ जातिका अधिकांक्ष निर्दाेष जनताको हत्याले सरकारको तामाङ लगायत निहत्था गरिब जनतामाथि इतिहासदेखि गर्दै आएको उत्पीडनलाई नै संकेत गरेको छ। हाम्रो मोर्चा उक्त षड्यन्त्रपूर्ण हत्याकाण्डको घोर भत्र्सना, निन्दा र घृणा गर्दछ तथा यो षड्यन्त्रपूर्ण हत्याकाण्डलाई लुकाउन हत्यारो दस्ताको रुपमा बदनाम शाही सेनाको दोषमाथि पर्दा हाल्ने कपटी सरकारी रवैयाको पनि तीव्र निन्दा गर्दछ। साथै मृतकका परिवारलाई तत्काल दश–दश लाख रुपैया राहत प्रदान गर्न, सो व्यारेकका सम्पूर्ण हत्याराहरुलाई तत्काल कार्वाही गर्न र घाइतेहरुको उचित उपचार र क्षतिपूर्ति प्रदान गर्न माग गर्दछ।

हामी यस हत्याकाण्डका विरुद्ध हुने सबै विरोध र संघर्षका कार्यक्रमलाई नैतिक र भौतिक दुवै रुपमा ऐक्यबद्धता जाहेर गर्दछौं र संघर्षलाई अझ घनिभूत रुपमा माथि उठाउनुका साथै मध्ययुगीन यस्तो बर्बर, सामन्ती राजतन्त्रलाई सदाका लागि नेपाली धर्तीबाट समाप्त गर्न विद्रोहको आँधीबेहरी सृष्टि गर्न पनि सबै पक्षसँग जोडदार आव्हान गर्दछौं।

अन्त्यमा, हाम्रो मोर्चा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि, शोकमग्न परिवारजनहरुप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शाही सेनाका यस ज्यादतिको युद्धमैदानबाटै प्रतिरोध गर्ने प्रण गर्दछ।

मिति २०६२ साल पौष १ गते

सूर्यमान दोङ
अध्यक्ष
तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
केन्द्रीय समिति