2005-12-03 - press release - INSEC२०६२-०८-१८ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20001 अभिलेखालय सि. नं.: NCA-20001

प्रेस विज्ञप्ति

०६२ मंसिर १८ गते

प्रेस विज्ञप्ति

नेकपा (माओवादी) ले एकतर्फी युद्धविरामको अवधिलाई एक महिनाका लागि थप गरेकोमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उक्त कार्यलाई सह्राहना गर्दै माओवादी नेतृत्वलाई धन्यवाद समेत दिन्छ।

गत भदौ १८ गते माओवादीले एकपक्षीय रूपमा तीन महिनाका लागि घोषणा गरेको युद्धविराम अवधिमा केही गहकिला उपलब्धिहरू भएको हामीले देखेका छौं। खासगरी सात राजनीतिक दल र माओवादीबीच १२ बुँदामा समझदारी हुनु र त्यसले देशमा विद्यमान राजनीतिक संकट समाधानका लागि प्रारम्भ बिन्दु (ब्रेक थ्रु) दिएको पृष्ठभूमिमा युद्धविरामको अवधि थपिनुले शान्ति प्रक्रियाले गति लिनमा सहयोग पुग्ने आशा हामीले लिएका छौं।

संयुक्त राष्ट्रसंघका महासचिव लगायत अन्तराष्ट्रिय समुदाय र देशभित्रका मानवअधिकारकर्मी लगायतले गरेको आग्रहलाई स्वीकारेर माओवादीले देखाएको यो 'लचकता' लाई नेपालमा विद्यमान हिंसा-प्रतिहिंसाको दुस्चक्र निराकरण गरी देशमा सही राजनीतिक निकास दिँदै दिगो शान्ति बहालीका लागि सदुपयोग गर्नु नै बुद्धिमत्ता हुनेछ। एकपक्षीय युद्धविरामको तीन महिने अवधिमा त्यसलाई उपयुक्त सम्बोधन र सदुपयोग गर्न राज्यपक्ष असफल रहेको भए तापनि थपिएको एक महिने अवधिलाई राज्यले त्यसरी खेर नफालोस् भन्ने हाम्रो माग रहेको छ। नेपालले उपयुक्त निकास पाउनका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वदायी र विशेष भूमिकामार्फत द्वन्द्व समाधानका लागि पहल हुनु पर्ने हाम्रो पूर्वअडानलाई यतिखेर पनि दोहोर्‍याउँछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष