2005-12-02 - press release - CPN-M२०६२-०८-१७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20917 अभिलेखालय सि. नं.: NCA-20917

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाप्रति उच्च सम्मान र गहिरो जिम्मेवारीबोधका साथ अग्रगामी राजनैतिक निकासका लागि वातावरण सहज तुल्याउने उद्देश्यसहित हाम्रो पार्टीले गरेको तीन महिने युद्धविरामको अवधि आज पूरा हुँंदैछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट समेत व्यापक जनसमर्थन प्राप्त गरेको यो युद्धविरामलाई बीचमै तुहाउन सामन्ती निरंकुश राजतन्त्र र उसको कथित शाही सेनाले देशभरि नै हत्या, आतंक र षडयन्त्रको सिलसिला चलाइनै रह्यो। यो प्रक्रियाको पछिल्लो कडीका रुपमा “शाही” सेनाको हवाइ आक्रमणबाट हाम्रो पार्टी र जनमुक्ति सेनाका जिम्मेवार र अत्यन्त लोकप्रिय क.किमबहादुर थापा (सुनिल) समेतको हत्या गर््यो। निरंकुश सामन्ती तत्वहरुका यी भयानक तोडफोड, हत्या र आतंकका वावजुद हाम्रो पार्टी र जनमुक्ति सेनाले ठूलो मूल्य चुकाएर युद्धविराममा डटिरह्यो र लोकतन्त्र र जनताप्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गरिरहयो।

युद्धविरामको यो प्रक्रियाले हाम्रो पार्टीसमेत सबै प्रमुख राजनैतिक दलहरुका बीचमा एउटा दूरगामी समझदारी कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानको दिशामा एउटा उज्यालो खाका प्रस्तुत गर्न संभव तुल्यायो। यो समझदारीको परिणाम आज देशमा निरंकुश राजतन्त्रका विरुद्ध जनतामा नयाँ आत्मविश्वास र आन्दोलनको नयाँ लहर अगाडि आइरहेको छ। देशमा विकास भइरहेको यो नयाँ परिस्थितिले लोकतन्त्र र शान्तिका पक्षधर अन्तर्राष्ट्रिय संघ, संस्था र शक्तिहरुलाई नयाँ किसिमले नेपाली जनताका पक्षमा ध्रुवीकृत पनि गराइरहेको छ।

देशमा विद्यमान राजनैतिक संकट र यसबीचमा विकास भइरहेका यसप्रकारका सकारात्मक परिघटनालाई वेवास्ता गर्दै र यसका विरुद्ध तोडफोड र षडयन्त्रको निर्देशन गर्दै निरंकुशताका नाइकेहरु भने अत्यन्त लज्जास्पद र रहस्यमय ढंगले लामो अफ्रिकी भ्रमणमा निक्लनु तथा नगरपालिका निर्वाचनको नौटंकीद्वारा दुनियालाई भ्रम दिनखोज्नु आफैंमा गैह्जिम्मेवारीपनको पराकाष्ठा हो।

निरंकुश सामन्ती तत्वहरुले हामीलाई फौजी प्रतिरोधका लागि बाध्य पारिरहेको उपरोक्त स्थितिका वावजुद देशको राजनैतिक स्थितिको समग्रता र लोकतन्त्र र शान्तिका पक्षधर देशभित्र र बाहिरका सबै सकारात्मक शक्तिहरुको मागलाई गंभीरतापूर्वक विचार गरी हाम्रो पार्टीले अर्को एक महिनाका लागि युद्धविरामको अवधि बढाउने निर्णय गरेको छ। हाम्रो पार्टी विश्वास गर्दछ कि यो निर्णयले निरंकुश राजतन्त्रका विरुद्ध लोकतन्त्र र शान्तिको आन्दोलन अगाडि बढाउन थप सहयोग पुग्नुका साथै यसले संविधान—सभामार्फत् राजनैतिक निकास खोज्ने प्रक्रियालाई नयाँ गति प्रदान गर्नेछ। निरंकुश सामन्ती तत्वहरुको वर्तमान रवैया जारी रहेमा युद्धविरामलाई निरन्तरता दिइरहन संभव नहुने तथ्य स्पष्ट गर्दै हाम्रो पार्टी आन्दोलनलाई अझ व्यापक र सशक्त तुल्याउन देशका सबै राजनैतिक शक्ति, नागरिक समाज, बौद्धिक तप्का, संचार जगत तथा सबै वर्ग, जाति, क्षेत्र र लि¨का जनसमुदायसँग हार्दिक अपील गर्दछ। साथै हाम्रो पार्टी, नेपाली जनताका पक्षमा अझ व्यापक आवाज उठाउन अन्तर्राष्ट्रिय संघ, संस्था, शक्ति र जनसमुदायसंगसमेत हार्दिक अनुरोध गर्दछ।

मिति ः— १७ मार्ग २०६२

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)