2005-11-28 - press release - CPN-M२०६२-०८-१३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20914 अभिलेखालय सि. नं.: NCA-20914

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस विज्ञप्ति

सामन्ती निरंकुशतन्त्रका अनेकौं षडयन्त्र र घेराहरुलाई चिर्दै हालै नेपाली सर्वहारा वर्गको गौरवशाली राजनैतिक प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक (Plenum) अध्यक्ष क.प्रचण्डको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। आफ्ना समग्र विचार, नीति, योजना र कार्यक्रमहरुलाई नयाँ उँचाइ प्रदान गर्दै पार्टी केन्द्रमा अभूतपूर्वक एकता कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानका लागि नयाँ ढंगले पहल लिने तथा नयाँ विचारअनुसार आफैलाई बदल्दै विश्व सर्वहारा वर्गको सेवा गर्ने ऐतिहासिक प्रतिबद्धताका साथ सम्पन्न केन्द्रीय समितिको उक्त युगान्तकारी बैठकका निर्णयहरुको सारसंक्षेप सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ।

१) बैठकको उद्घाटन मन्तव्यमा अध्यक्ष क.प्रचण्डबाट आजको परिस्थितिमा विद्यमान पार्टीभित्र र बाहिरका चुनौतीहरुको सामना गर्न समग्र विचार, नीति, विधि र कार्यशैलीमा नयाँ क्रान्तिद्वारा आफ्नो विकास र रुपान्तरण गर्न अनिवार्य भएको धारणा अघि सार्दै त्यसका लागि केन्द्रीय समितिका सदस्यहरुसँग नयाँ ऐतिहासिक त्यागसहित आफैलाई र सिंगो पार्टीपंक्तिलाई बदल्न अपील गर्नुभयो। परम्परागत बुझाइ र कार्यशैलीको निरन्तरतामा क्रमभंग गरी नयाँ बुझाइ र कार्यशैलीको विकास नगरेसम्म आन्तरिक र वाह्य तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतीहरुको सामना गर्न संभव छैन भन्ने सन्देश नै उद्घाटन मन्तव्यको मुख्य मर्म थियो। यसरी बैठकको उद्घाटनपश्चात् सामूहिक रुपले अन्तर्राष्ट्रिय गायनद्वारा बैठक हललाई गुञ्जायमान पारिएको थियो। यसको लगत्तै केन्द्रीय समितिको गत बैठकयता शहादत प्राप्त गर्नुहुने केन्द्रीय सदस्यद्वय क.शेरमान कुँवर (विशाल), क.मोहनचन्द्र गौतम (कुमार), केन्द्रीय सल्लाहकार क.तेजमान घर्ती (दीर्घ), व्रिगेड कमाण्डर क.जीत, भी.सी.क.वसन्त, क.ज्वार तथा क.दिनेश, क.राम्जी, क.लोकेश लगायत महान जनयुद्धका सम्पूर्ण अमर शहीदहरु एवम् देशभित्र र बाहिरका तमाम ज्ञात–अज्ञात शहीदहरुप्रति मौनधारणसहित मुठ्ठी उठाएर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो।

२) बैठकमा अध्यक्ष क.प्रचण्डबाट नयाँ दस्तावेज प्रस्तुत गरियो। अनौपचारिक र औपचारिक समूह विभाजन र सामूहिक रुपमा जनवादको नितान्त नयाँ अभ्यास गरी कयौं दिनको बहसपश्चात् आवश्यक परिमार्जनसहित उक्त ऐतिहासिक दस्तावेजलाई एकमतले पारित गरियो। बहसको क्रममा दस्तावेजमा प्रस्तुत विचार, विधि र भावनाप्रति आफ्नो बुझाइ र एकरुपता जाहेर गर्दै तथा आ—आफ्नो गंभीर आत्मसमीक्षा राख्दै स्थायी समितिका सदस्य क.लालध्वज, क.बादललगायतका सबै कमरेडहरुले अत्यन्त सारगर्भित र भावपूर्ण मन्तव्य राख्नुभयो। यसैगरी बहसमा भाग लिने विभिन्न पी.बी.एम. र सी.सी.एम.कमरेडहरुले पनि आ—आफ्ना विचारहरु राखीसक्दा तथा अन्त्यमा अध्यक्षबाट आफ्नो आत्मसमीक्षा र स्पष्टीकरणसहित पार्टीमा महान् बहसका निमित्त क्रान्ति, प्रतिक्रान्ति र पार्टी नेतृत्वका सम्बन्धमा अन्तर्राष्ट्रिय महत्वको वैचारिक प्रस्ताव राख्ने प्रक्रियासम्म आइपुग्दा सिंगो केन्द्रीय समिति वैचारिक र भावनात्मक एकताको प्रारम्भमा अनपेक्षित अभूतपूर्व उँचाइमा उठेको महसुस गरियो। उक्त ऐतिहासिक दस्तावेजको सारसंक्षेप निम्नअनुसार रहेको छ–

क) दस्तावेजको पहिलो अध्यायमा विश्व परिस्थिति मुख्यतः साम्राज्यवाद र सर्वहारा आन्दोलनको समीक्षा गरिएको छ। त्यस अनुसार साम्राज्यवाद र सर्वहारा आन्दोलनको रणनीतिबारे आजको भूमण्डलीकृत साम्राज्यवादका सन्दर्भमा लेनिन र माओका कतिपय विश्लेषणहरु त्यसरी नै पछि परेका छन् जसरी प्रतिस्पर्धात्मक पूँजीवादको कालमा यूरोपमा क्रान्तिबारे माक्र्स, एगेंल्सका कतिपय विश्लेषणहरु प्रथम विश्वयुद्धसम्म आइपुग्दा विकसित साम्राज्यवादको स्थितिमा पछि परेका थिए भन्ने महत्वपूर्ण प्रस्तावना अघि सारिएको छ। आज विश्वमा भूमण्डलीकृत साम्राज्यवादको प्रतिरोधका लागि सर्वहारा वर्गले आजका साम्राज्यवादी विशेषताहरुको नयाँ संश्लेषण गर्दै मा.ले.मा.को विकासद्वारा नयाँ विश्व–क्रान्ति र जनताको नयाँ विश्व फेडेरेशनतिर अगाडि बढ्ने भौतिक आधार इतिहासमा पहिला कहिल्यै भन्दा गुणात्मक रुपले परिपक्व भएको निष्कर्ष दस्तावेजमा निकालिएको छ। यस सम्बन्धमा विश्व स्तरमा वैचारिक बहस छेडेर २१ औं शताब्दीमा आवश्यक वैज्ञानिक विचार र रणनीतिको विकास गर्न अगाडि बढ्ने प्रतिबद्धता पनि दस्तावेजमा व्यक्त भएको छ। यो विश्लेषणले कम्युनिष्ट आन्दोलनमा विद्यमान यान्त्रिक र जड चिन्तनमाथि विशेष रुपले प्रहार गरेको छ।

ख) दस्तावेजको दोस्रो अध्यायमा पार्टीको राजनैतिक र फौजी रणनीति र कार्यनीतिहरुको समीक्षा गर्दै नयाँ परिस्थितिमा पार्टीले अपनाउन पर्ने नयाँ नीतिबारे ठोस चर्चा गरिएको छ। यसमा मुख्य रुपले सामन्ती निरंकुशतन्त्रको अन्त्यका लागि संसदीय राजनैतिक दलहरुसँग सहकार्यको आवश्यकता, अन्तरिम सरकार, संविधान—सभा र लोकतान्त्रिक गणतन्त्रबारे धारणा, वहुदलीय प्रतिस्पर्धा, मानव अधिकार र मौलिक हकबारे पार्टीको नयाँ प्रतिबद्धता, गृहयुद्धको शान्तिपूर्ण राजनैतिक निकास सम्बन्धी धारणा, लोकतान्त्रिक गणतन्त्रमा देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्याहरुलाई ठोस रुपमा संबोधन गर्ने गरी राज्यसत्ताको पुनर्संरचनाबारेको धारणा, युद्धविरामको समीक्षा, सामन्ती निरंकुशतन्त्रको विरुद्ध लिनुपर्ने नयाँ फौजी रणनीति आदिबारे नयाँ नीतिहरु निश्चित गरिएको छ। नीतिका सम्बन्धमा गरिएको उपरोक्त विकासले नेपालमा विद्यमान राजनैतिक संकटको समाधानका लागि पार्टीको तत्परता र लचकतालाई स्पष्ट गर्दछ। यो अध्यायमा सामन्ती निरंकुशतावादी तत्वहरुले बाध्य पारेमा अन्तसम्म लडिरहने फौजी नीति र प्रतिबद्धता पनि स्पष्ट गरिएको छ।

ग) दस्तावेजको तेस्रो अध्यायमा पार्टीमा देखा परेर बढ्दै जान थालेका विचलन र कमी–कमजोरीहरुको निर्ममतापूर्वक आलोचना गरिएको छ। जनताको सेवा गर्ने र जनसम्बन्ध सुदृढ गर्ने लगायतका विषयमा देखापरेका विचलन र कमजोरीहरुको वस्तुगत राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरुको लेखाजोखा गर्दै दस्तावेजले आफ्नै कमजोरीका विरुद्ध क्रान्ति गर्ने विधि र अभियान निश्चित गरेको छ। महान् त्याग र महान बहसको माध्यमबाट आफैलाई रुपान्तरण गर्ने प्रक्रियालाई दृढतापूर्वक अगाडि बढाएर मात्र विचलन र कमजोरीमाथि विजय हासिल गर्न र त्यसरी मात्र पार्टीले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणमा आफ्नो नेतृत्वदायी भूमिका पूरा गर्नसक्दछ भन्ने कुरा स्पष्ट गरिएको छ।

घ) दस्तावेजको चौथो अध्यायमा पार्टीको विगत अन्तरसंघर्षको समीक्षा गरिएको छ। उक्त समीक्षामा घटनाक्रमहरुको विश्लेषण गरी आलोचना र आत्मालोचनाको वैज्ञानिक विधिको प्रयोगद्वारा समस्या समाधान भएको तथा यसक्रममा विगतका कयौं आशंकाहरु हटेको कुरा स्पष्ट गरिएको छ। सार्वजनिक र अस्वस्थ हुन खोजेको अन्तरसंघर्षका नकारात्मक अनुभवबाट शिक्षा लिई त्यसलाई सकारात्मकतामा बदल्न पार्टीले नयाँ विचार र नयाँ विधिको प्रगोग गर्न सफल भएको छ। यो अनुभव, सफलता हाम्रो पार्टीका लागि मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा समेत विद्यमान परम्परागत सोंच र शैलीमाथि विजयका लागि सहयोगी बन्ने विश्वास पनि गरिएको छ।

ङ) दस्तावेजको पांचौ र छैठौं अध्यायमा क्रमशः प्रत्याक्रमणको पहिलो योजनाको समीक्षा र भावी योजनाको रुपरेखा प्रस्तुत गरिएको छ। प्रत्याक्रमणको पहिलो योजनाको समीक्षामा कयौं गल्ती, कमजोरी र असफलताका वावजुद त्यो मूलतः सफल भएको निष्कर्ष निकालिएको छ भने भावी योजनामा राजनैतिक र फौजी कार्यक्रमको दिशा निर्धारण गरिएको छ। राजनैतिक दिशामा सामन्ती निरंकुशतन्त्रका विरुद्ध आफ्नै पहलमा जनपरिचालन गर्ने र जनसम्बन्ध सुदृढ गर्ने कुरामा जोड दिनुका साथै संसदीय राजनैतिक दलहरुसँग अन्तरक्रिया बढाउँदै सम्बन्ध सुधार गर्ने कुरामा विशेष जोड दिइएको छ। फौजी दिशामा सामन्ती निरंकुशतावादी तत्वहरुले नेपाली जनताको लोकतान्त्रिक र शान्तिको आकांक्षाका विरुद्ध शाही सैनिक अधिनायकवाद थोपर्ने दुस्साहस गरिरहेको स्थितिमा ‘दुश्मनको ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने’ नयाँ नीति निश्चित गरिएको छ। सो प्रयोजनका निमित्त जनमुक्ति सेनाको हाल विद्यमान तीन डिभिजनको संरचनालाई सात डिभिजनमा विकास गर्ने प्रस्ताव समेत गरिएको छ।

३) पारित दस्तावेजको विचार र भावनाअनुसार आफ्नै विरुद्ध क्रान्तिको प्रक्रियालाई अगाडि बढाउने स्पिरिट पकड्दै महान् बहसको माध्यमबाट २१ औं शताब्दीमा नयाँ वैचारिक संश्लेषण हासिल गर्न महाधिवेशन आयोजना गर्ने लक्ष्य किटान गर्दै सो अवधिसम्म पार्टीको समग्र नेतृत्व गर्नका लागि ९५ सदस्यीय केन्द्रीय समितिका अगाडि अध्यक्ष क.प्रचण्डले ३३ सदस्यीय आयोजक समितिको नामावली प्रस्तुत गर्नुभयो। संस्थागतरुपले पोलिटव्यूरो केन्द्रीय समितिमा, केन्द्रीय समिति क्षेत्रमा र त्यसैगरी सबै कमिटीहरु एकएक तह तल झर्ने मान्यताअनुसार प्रस्तूत सो नामावलीसमेत एकमतद्वारा पारित गरियो। बैठकको अन्तमा आयोजित समापन कार्यक्रममा आफ्नै कमी, कमजोरीका विरुद्ध क्रान्ति गर्ने महान स्पिरिटलाई सबै वक्ता कमरेडहरुले उच्च सम्मान गर्दै बैठकले पारित गरेका नयाँ विचारको महत्व, यसका युगान्तकारी निर्णयहरु नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनकै इतिहासमा एक महान् सर्वहारावादी त्याग र आदर्शका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। अन्तमा अध्यक्ष क.प्रचण्डबाट बैठकका निर्णयहरुको ऐतिहासिक महत्वबारे सारगर्भित मन्तव्य राख्दै केन्द्रीय समितिको विघटनको प्रस्ताव राखियो। मुठ्ठी उठाएर आफूले आफैलाई विघटन गर्ने सो प्रस्ताव समेत पारित भयो।

अन्तमा निम्न नाराहरु घन्काइयो ः—

– रणनैतिक प्रत्याक्रमणलाई – अझ अगाडि बढाऔं !

– महान् जनयुद्ध – जिन्दावाद !

– जनवादी क्रान्ति – जिन्दावाद !

– सामन्ती राजतन्त्र – मुर्दावाद !

– विश्व साम्राज्यवाद – मुर्दावाद !

– मा.ले.मा. र प्रचण्डपथ – जिन्दावाद !

– विश्वका श्रमिक जनता – एक होऔं !

– ने.क.पा.(माओवादी) – जिन्दावाद !

– महान शहीदहरुप्रति – लाल सलाम !

५) पुरानो कन्द्रीय समितिको पूर्ण बैठक (Plenum) द्वारा महाधिवेशन आयोजक समितिका रुपमा निर्वाचित केन्द्रीय समितिको बैठक क.प्रचण्डको अध्यक्षतामा बसी शुद्धीकरण र सर्वहारा वर्गीय स्पिरिट अनुसार महाधिवेशनसम्मका लागि केन्द्रीय समितिमा अध्यक्ष बाहेक अन्य कुनै पद सिर्जना नगर्ने केवल आवश्यकता र क्षमताअनुसार कार्यविभाजनमात्र गर्ने निर्णय गरियो। त्यसअनुसार अध्यक्षमा क.प्रचण्डलाई निर्वाचित गरी अन्य सबै सदस्यहरुको कार्यविभाजन केन्द्रीय सदस्यका रुपमा गर्ने ठेगान गरियो।

६) नयाँ दस्तावेजको स्पिरिटअनुसार पार्टीको अन्य संगठनात्मक संरचनामा समेत व्यापक हेरफेर गरिएको छ। जनमुक्ति सेनाको सात डिभिजन गठन गरी केन्द्रीय कार्य विभाजन समेत गरिएको छ। त्यसरी नै संयुक्त मोर्चाको विद्यमान केन्द्रीय समिति विघटन गरी सत्ता सुदृढीकरण तथा बृहद् राष्ट्रिय राजनैतिक सम्मेलन आयोजनाको भूमिका समेत खेल्ने गरी कामकाजी समितिको गठन गरिएको छ। पार्टीका तर्फबाट त्यसको संयोजक र सचिवका रुपमा काम गर्न क.लालध्वज र क.कान्छाबहादुरलाई जिम्मा दिइएको छ।

७) पारित दस्तावेजको विचार र स्पिरिटअनुसार नै विभिन्न विभाग र मोर्चाहरुको समेत व्यापक गठन, पुनर्गठन गरी कार्य विभाजन गरिएको छ। त्यसरी नै नयाँ केन्द्रीय समितिले मधेशको आन्दोलन उठाउन कयौं महत्वपूर्ण निर्णयहरु समेत लिएको छ।

मिति —२०६२ मार्ग १३ गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति