2005-11-11 - press release - INSEC२०६२-०७-२५ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19990 अभिलेखालय सि. नं.: NCA-19990

प्रेस विज्ञप्ति

०६२ कार्तिक २५ गते

प्रेस विज्ञप्ति

मानवअधिकार शिक्षा कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा विगत १० वर्षेखि रेडियो नेपालबाट प्रसारण हुँदै आएको एक चर्चित कार्यक्रम हो। नेपालको इतिहासमै रेडियोबाट प्रसारण गरिएको यो पहिलो मानवअधिकार शिक्षा कार्यक्रम हो। प्रजातन्त्र, मानवअधिकार तथा बहुदलीय व्यवस्थाको संरक्षण एवं सम्बर्द्धनमा योगदान पुर्‍याउँदै आएको इन्सेकले मानवअधिकार शिक्षाको प्रचार प्रसार गर्न उक्त कार्यक्रम २०५१ साल माघ ७ गतेदेखि सञ्चालन गर्दै आएको हो। कार्यक्रमसँग आबद्ध रही देशका ७३ जिल्लाका दशौं हजार मानवअधिकार रक्षकहरूको संगठन 'मानवअधिकार शिक्षा रेडियो स्रोता क्लब' (रिलेक नेपाल) निर्माण हुनु यो कार्यक्रमको लोकप्रियताको प्रमाण हो।

माघ १९ को शाही कदमपछि मानवअधिकार शिक्षा कार्यक्रमको उद्देश्यअनुरूप निर्माण गरिएका कार्यक्रमहरू प्रसारण गर्ने क्रममा अनेकपल्ट सेन्सरसीप खप्नु परेको छ। यसै क्रममा भोली बिहान प्रसारण गरिने कार्यक्रमका लागि संघसंस्थाहरूका लागि समाज कल्याण परिषद्द्वारा जारी आचार संहितासँग सम्बन्धित विषयवस्तु छनौट गरिएको थियो। कार्यक्रममा उक्त आचार संहिता बारेमा मानवअधिकारकर्मीहरूको धारणा समेटिएको थियो। तर उक्त कार्यक्रम प्रसारण गर्न अनुमति दिइएन।

यस घटनाले मुलुकको प्रजातन्त्र र मानवअधिकारको अवस्थालाई प्रतिबिम्बन मात्र गर्दैन, भविष्यमा सरकार झनै अनियन्त्रित तवरले नागरिक अधिकारलाई कुल्चँदै जाने सङ्केत पनि गर्दछ। नेपाल अधिराज्यको संविधान २०४७ र राज्यद्वारा अनुमोदित अन्तर्राष्ट्रिय मानवअधिकार कानुन विपरित भइरहेका यस्ता घटनाप्रति सबै प्रजातन्त्रप्रेमी मानवअधिकार रक्षकहरू सचेत एवं यस्ता क्रियाकलापका विरुद्ध सक्रिय रहन आग्रह गर्दछौँ।

सुबोधराज प्याकुरेल
अध्यक्ष