2005-10-18 - press release - NA२०६२-०७-०१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19877 अभिलेखालय सि. नं.: NCA-19877

सम्माननीय प्रधान सेनापतिज्यूबाट जनवादी गणतन्त्र चीनको औपचारीक भ्रमण

नेपाल र जनवादी गणतन्त्र चीन बीच दौत्य सम्बन्ध स्थापना भएको ५० औं वाषिर्कोत्सवको उपलक्ष्यमा, चीनिया जनमुक्ति सेनाको मैत्रीपूण निमन्त्रणामा सम्माननीय प्रधान सेनापति महारथी श्री प्यार जंग थापाज्यूबाट यही मिति २०६२ कार्तिक १ गते देखि कार्तिक ८ गते सम्म हुने औपचारीक भ्रमणको सिलसिलामा आज त्यस तर्फप्रस्थान गर्नु भयो ।

भ्रमणदलमा सम्मीलीत ६ सदस्यीय टोलीले चीनको विभिन्न स्थानहरुको भ्रमण गर्नुका साथै सम्माननीय प्रधान सेनापति ज्यूले केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष एवं रक्षामन्त्री जनरल काओ गाङ्गचुआन (General Cao Gangchuan), जनमुक्ति सेनाका चीफ अफ जनरल स्टाफ जनरल लियान गुआङली (General Liang Guanglie) लगायत वरिष्ठ अधिकारीहरुसंग भेटघाट गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणदलका साथमा श्री सम्माननीय प्रधान सेनापतिज्यूकी धर्मपत्नी श्रीमती कमला थापा मिति २०६२ साल कार्तिक ३ गते हुने वेइजिङको तथा त्यस पश्चातका भ्रमणहरुमा भ्रमणदलका साथ संलग्न हुनु हुनेछ । भ्रमणदलका अन्य सदस्यहरुमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री किरण शम्सेर थापा लगायत स्टाफ अधिकृतहरु रहनु भएको छ ।

सम्माननीय प्रधान सेनापति ज्यूलाई श्री त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री रुकमाङ्गगद कटवालले हार्दिक विदाई गर्नु भयो । उक्त अवसरमा शाही नेपाली सेनाको एक टुकडीले सम्माननीय प्रधान सेनापति ज्यूको सम्मानमा सम्मान गारद अर्पण गरेको थियो । सो अवसरमा श्री रक्षा सचिव, शसस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, शाही नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुका साथै मित्रराष्ट्र चीन लगायत अन्य मित्रराष्ट्रहरुका सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।

साथै सम्माननीय प्रधान सेनापति ज्यूको अनुपस्थितीमा वहाँको कार्यभार कायम मुकायम गरी बलाधिकृत रथी श्री रुकमाङ्गगद कटवालले सम्हाल्नु हुनेछ ।

सम्माननीय प्रधान सेनापतिज्यूको यस भ्रमणले शाही नेपाली सेना तथा चीनीया जनमुक्ति सेना बीचको सम्बन्ध अझ प्रगाढ हुनुका साथै दुवै राष्ट्र बीचको सम्बन्ध बिकासमा समेत ठोस मद्दत पुग्ने विश्वास लिइएको छ ।

RNA HQ
18 October 2005