2005-09-28 - press release - NHRC२०६२-०६-१२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-19803 अभिलेखालय सि. नं.: NCA-19803

मिति: 2005-09-28
आयोगमा नेपालस्थित कुटनीतिक नियोग तथा दातृ निकायहरूसीत छलफल, २०६२/६/१२

प्रेस विज्ञप्ति

राष्ट्रिय मानव अधिकार आयोगले दातृ निकायका प्रतिनिधिहरूसँग मानव अधिकारको वर्तमान अवस्था र उनीहरुले आयोगलाई प्रदान गर्दै आएको सहयोगका सम्बन्धमा छलफल सम्पन्न गरेको छ।

आयोगले आज आयोजना गरेको सो कार्यक्रममा आयोगलाई मानव अधिकारका क्षेत्रमा सहयोग पुर्‍याउँदैं आएका नेपालस्थित कुटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

सो कार्यक्रममा आयोगका अध्यक्ष नयनबहादुर खत्रीले आयोग मुलुकको मानव अधिकारको स्थितिप्रति चिन्तित रहेको बताउँदैं त्यसलाई बुझेर आयोगले मानव अधिकार अनुगमन, अनुसन्धान र प्रबर्द्धनको कार्यलाई थप गतिका साथ अगाडि बढाइरहेको बताउनुभयो।

आयोगका का.मु. सचिव केदारप्रसाद पौड्यालले आयोगले गत ६ महिना यता मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि सञ्चालन गरेका गतिविधि तथा निर्वाह गरेको भूमिकाका बारेमा जानकारी दिनुभएको थियो।

आयोगले आयोगलाई आर्थिक तथा प्राविधिक रूपमा सहयोग पुर्‍याउँदैं आएका दातृ निकायका प्रतिनिधिहरूसँग हरेक छ-छ महिनामा गर्ने नियमित अन्तरक्रियाका सिलसिलामा आजको छलफल कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी बेलायती, अष्ट्रेलियन, जर्मन, डेनमार्क र फिनल्याण्ड राजदुतावासका प्रतिनिधिहरु तथा एसडीसी, डीएफआइडी, यूरोपेली आयोग, सीडा, सेभ द चिल्ड्रेन नर्वे, यूएनडीपी, संयुक्त राष्ट्र संघ मानव अधिकार उच्चायुक्तको नेपालस्थित कार्यालय, यूएसएआइडी र डानिडा लगायतका दातृ निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

केदारप्रसाद पौड्याल
प्रवक्ता