2005-08-21 - press release - CPN-M२०६२-०५-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20922 अभिलेखालय सि. नं.: NCA-20922

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
पश्चिमी कमाण्ड

प्रेस वक्तव्य

आज मूलुकमा ज्ञाने शाहीले घोर फासीवादी निरङकुशतन्त्र थोपरिराखेको छ। ०४६ सालको जनआन्दोलनबाट प्राप्त सीमित जनअधिकारहरुलाई समेत ०५९ असोज १८ र ०६१ माघ १९ का शाही ‘कू’ का घोर प्रतिगामी कदमहरुबाट सम्पूर्ण अधिकार आफ्नो हातमा केन्द्रीत गरी घोर निरङ्कुश मध्ययुगीन जंगी शासन थोपरिराखेको छ। जनताको लेख्ने, बोल्ने, प्रसारण गर्ने, सभा–सम्मेलन र संगठन गर्न पाउने जस्ता न्यूनतम अधिकारको हनन मात्र होइन बाँच्न पाउने अधिकारबाट समेत बञ्चित गराएर दिनहुँ निहत्था जनताको हत्या, दमन, धरपकड, यातना, बेपत्ता आदि गर्दै राज्यआतंक मच्चाइराखेको छ। ०४६ सालको जनआन्दोलनबाट विस्थापित भैसकेको निरङ्कुश पंचायती ब्यवस्थालाई पुनरावृति गर्दैछ। निरङ्कुशतन्त्रविरुद्ध मत राख्ने विपक्षी राजनैतिक शक्तिहरुमाथि जंगी शासन थुपारिरहेको छ। प्रेस स्वतन्त्रताको हत्या गरिएको छ। अर्कोतर्फ जनताको दैनिक उपभोग्य वस्तुहरुमाथि मूल्य बढाउँदै महंगी दिनप्रति दिन आकाशिदै लगिएको छ। जनता बेरोजगारी र खाद्यन्न अभावले ग्रस्त छन्। अर्कोतर्फ जनताकै रगत र पसिनाबाट संचित राष्ट्रको ढुकुटीमा बार्षिक रु ६५ करोडका दरले भत्ता खाएर मात्र पुग्ने राज्यसत्ताको बलमा जनताको रगत, पसिना र प्राकृतिक श्रोत तथा सम्पदामाथि अरु लुट मच्चाउँदै छन्। आफ्नो भाइवंशको नाश गरी अरबौं चल–अचल सम्पति पनि लुटेका छन्। यसरी खरबपति राजाको रुपमा ख्याति कमाएका छन्।

यसप्रकारको जनहत्यारो, युद्ध अपराधि, वंशमारा मात्र होइन भ्रष्टचार र तस्करले समेत कुख्याति कमाएका ज्ञाने शाहीले अरु थप जनहत्या र अपराधहरुको षड्यन्त्र गर्न जनताको रगतले लत्पत्तिएको अनुहार लिएर पश्चिमी नेपाल भ्रमण गर्दैछ। त्यसैले सम्पूर्ण देशभक्त, स्वाभिमानी तथा न्यायप्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरुले ज्ञाने शाहीको निरङ्कुश जंगी शासनको विरुद्ध तथा जनअभिमत अनुरुपको अग्रगामी राजनैतिक निकासको निम्ति संविधान सभा र गणतन्त्रको पक्षमा जनऐक्यबद्धता जाहेर गर्न ज्ञाने शाहीको पश्चिम नेपाल भ्रमण अवधिमा जनप्रतिरोध संघर्षका विभिन्न कार्यक्रमहरु जस्तै जनसभा, जनप्रदर्शन, कोेणसभा, नाराबाजी, फायरिङ्ग जुलुश, मशाल जुलुश, पुत्ला जलाउने, ज्ञाने शाहीको जंगी र प्रशासनिक निकायहरुमाथि ध्वंश, नाकाबन्दी, जिल्ला बन्द लगायतका विभिन्न संघर्षका कार्यक्रमहरुको आयोजना गर्न र गराउन हुन पार्टी पंक्ति, जनवर्गीय संगठन, मोर्चा, जनसत्ता, जनसेना लगायत सम्पूर्ण जनसमुदायहरुमा पश्चिम कमाण्ड आह्वान गर्दछ।”

०६२ भाद्र ५ गते

कान्छाबहादुर
इन्चार्ज
पश्चिमी कमाण्ड
ने.क.पा.(माओवादी)