2005-08-15 - press release - CPN-M२०६२-०४-३१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20908 अभिलेखालय सि. नं.: NCA-20908

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन

प्रेस वक्तव्य

जनमुक्ति सेना, नेपालको पश्चिम डिभिजनद्वारा कालीकोट पिलीमा गरिएको विजय कार्वाहीका क्रममा त्यहाँ रहेका श्वेत सेनालाई संवेदनशील अंग काटेर मारेको, लाइन लगाएर गोली हानेको र गैरलडाकु मारेको भन्ने शाही सेनाको हास्यास्पद वकवासप्रति एकपटक फेरि हाम्रो ध्यानाकर्षण भएको छ ।

पहिलो कुरा, आफ्ना मालिकको आदेशबाट राजधानीबाट हेलिकोप्टरमा घटनास्थलतर्फ उडेका कथित प्रधान सेनापति प्याराज¨ थापाले आफ्ना कनिष्ठ अधिकृत तथा सिपाहीको लाशका संवेदनशील अंगहरु स्याल, कुकुर र गिद्दले लुछिसक्दा पनि विभिन्न बहानामा दुई दिनसम्म आफ्नो नेपालगञ्जस्थित पृतना मुख्यालयमा लुकेर संवेदनशील अंग काटेर मारेको कुतर्क गर्नु कायरताका ढाकछोप मात्रै हो । लडाईं शुरु हुने वित्तिकै व्यारेकको पश्चिमी सुरुङबाट सुटुक्क भाग्ने कथित कर्णेल राजु देवकोटाहरुको रिपोर्ट सुनेर संचार जगत लाई वेवकुफ बनाउन दीपक गुरूङको वकवास पनि पानीको लौरो सावित भएको छ । यस्ता कायर र भगौडाहरुको कुरा सुनेर अब तिनका ब्यारेकमा रहेका सिपाहीहरु विस्वस्त हुन्छन् कि विद्रोहमा उत्रन्छन् ?

दोस्रो कुरा, युद्धमोर्चा भनेको दुई सशस्त्र पक्षबीच गोली हानाहानको मोर्चा हो । जबसम्म यो प्रक्रिया चलिरहन्छ तबसम्म लाइन लगाएर गोली हान्ने, शरीरको कुनै सम्वेदनशील अंगमा गोली हान्ने भन्ने प्रश्नै उठ्दैन । जब दुश्मनले आत्मसमर्पण गर्छ वा पराजित हुन्छ तब क्रान्तिकारीहरुले त्यस पक्षलाई कब्जामा लिएर युद्धबन्दी बनाउँछन् । यही कुरा पिलीमा लागू भएको छ र त्यसको सवुतको रुपमा हाम्रो कब्जामा रहेका ६० जना सैनिकहरु छन् । उनीहरुलाई हामीले जनमुक्ति सेना सरह सम्मान, सुविधा प्रदान गरिराखेका छौं । हामी मानवधिकारवादी र प्रेस जगतलाई उनीहरुबाटै वास्तविकता बुझ्न सकिने कुरा पनि जानकारी गराउँछौं । साथै श्वेत सेनाको कब्जामा परेका हाम्रा सैनिक र गैरसैनिक कमरेडहरुलाई कसरी विभत्स ढंगले मारिन्छ र अमानवीय चरम यातना दिइन्छ भन्ने यथार्थप्रति पनि आँखा नचिम्लिन विनम्र आग्रह गर्दछौं ।

तेस्रो कुरा, त्यहाँ गैरलडाकुमाथि आक्रमण गरियो भनी स्यालहुइँया मच्चाउने शाही सेनाको कुरा सही हो या गलत भन्ने जान्न त्यस व्यारेकबाट हाम्रो कब्जामा आएका हतियार तथा मान्छेको सुची र ६० जनाबाट बुझ्दा स्पष्ट हुनेछ । विना अनुसन्धान वकवास गर्ने अधिकार कसैलाई बरु यस सन्दर्भमा हामीले भन्न चाहन्छौं भने शाही सेना अमेरिका, भारत लगायतका साम्राज्यवादी तथा विस्तारवादी मुलुकबाट हाम्रो लागि गाउँ–गाउँमा हतियार ल्याइदिने असल नोकर सावित भएको छ ।

२०६२ श्रावण ३१

सुदर्शन
प्रवक्ता
पश्चिम डिभिजन
जनमुक्ति सेना, नेपाल
ने.क.पा.(माओवादी)