2005-08-10 - press release - CPN-M२०६२-०४-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20909 अभिलेखालय सि. नं.: NCA-20909

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस विज्ञप्ति

मानव अधिकार र विकास–निर्माणसंग सम्बन्धित पार्टी नीति स्पष्ट गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।

१– हाम्रो पार्टी, नेपाली जनताको वास्तविक लोकतन्त्र स्थापना गर्न संघर्ष गरिरहेको एक क्रान्तिकारी पार्टी हो । पार्टीको नेतृत्वमा जनयुद्धको पहल भएदेखि नै हामीले मानव अधिकार सम्बन्धि जेनेभा महासन्धिको मूल स्पीरिटप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै त्यसको पालना गर्ने कुरामा जोड दिंदै आएका छौं । युद्धबन्दीहरुप्रति सम्मानजनक मानवोचित व्यवहार र प्रक्रियागतढंगले उनीहरुको रिहाइ गर्ने हाम्रो श्रृंखलाबद्ध आचरणले सो प्रतिबद्धताको व्यवहारिक पुष्टि हुंदै आएको छ । युद्धका क्रममा कतिपय अवस्थामा आफ्ना कार्यकर्ताहरुबाट घट्न जाने अनपेक्षित र नीति विरोधी घटनाका सन्दर्भमा हामीले सार्वजनिक आत्मालोचनासहित दोषीमाथि कार्वाहीको प्रक्रिया पनि अगाडि बढाउँदै आएका छौं र यो प्रक्रियालाई अझ दृढतापूर्वक लागू गर्ने पार्टी नीति रहेको कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौं ।

२– नेपालमा सामन्ती दरवारको ‘शाही’ सेनाद्धारा गैरन्यायिक ढंगले हजारौंलाई बेपत्ता पार्ने, निर्मम यातनासहित अमानवीय ढंगले जनताका छोराछोरीहरुको हत्या गर्ने, महिलाहरुको बलात्कार गर्ने र गरीब किसानका गाउँवस्तीमा लुटपाट, कुटपिट र आगजनीका विभत्स श्रृंखला चलाउँदै आएको यथार्थ कसैबाट छिपेको छैन । गत माघ १९ को सामन्ती शाही ‘कू’ पछि नागरिकका सबै मौलिक र नैसर्गिक अधिकारसमेत अपहरण गरेर सिंगो देशलाई निरंकुशताको जांतोमा पिस्ने दुश्साहस भइरहेको कुरा पनि स्पष्ट नै छ । यो पृष्ठभूमिमा हाम्रो पार्टीले नेपालमा मानव अधिकारको अनुगमन र संरक्षणका लागि राष्ट्र संघद्धारा उच्च आयुक्त नियुक्त गर्ने निर्णयलाई सार्वजनिक रुपले स्वागत गर्दै र उसलाई आफ्ना तर्फबाट सक्दो सहयोग पुर््याउने प्रतिबद्धता जाहेर गरिसकेको छ । संयुक्त राष्ट्र संघको उक्त आयोगलाई देशको द्धन्द्ध प्रभावित कुनै पनि भू–भागमा जान–आउन, संवेदनशील घटनास्थलको अध्ययन, निरिक्षण गर्न, हाम्रो नियन्त्रणमा रहेका बन्दीहरुसंग भेटघाट गर्न तथा आवश्यकता अनुसार हाम्रो पार्टीका विभिन्न इकाइहरुसंग छलफल, अन्तक्रिया गर्न सहयोग गर्ने पार्टी नीति रहेको कुरा पनि हामी यसै वक्तव्यमार्फत स्पष्ट गर्न चाहन्छौं । पार्टीको यो नीति अन्तर्राष्ट्रिय रेडक्रस संस्थाका लागि पनि लागू भइरहेको छ ।

३– हालै कालिकोट जिल्लामा जनमुक्ति सेनाद्धारा ‘शाही’ सेनाको एक क्याम्पमा साहसिक आक्रमण भएको र सफलतापूर्वक सो क्याम्प कब्जा गरिएको कुरा सर्वविदितै छ । त्यस सन्दर्भमा कब्जामा आएका ४० शाही सैनिकहरुलाई लाइन लगाएर गोली हानिएको भन्ने ‘शाही’ सरकारको प्रचार नितान्त कपोलकल्पित झुट्टो र षडयन्त्रमूलक भएको कुरा हामी स्पष्ट गर्न चाहन्छौं । जनमुक्ति सेनाले कब्जामा लिएर गोली हानेको भए ५२ जना शाही सैनिकलाई लिएर हिंड्ने प्रश्नै नउठ्ने कुरा स्पष्ट छ । हाम्रो कब्जामा रहेका शाही सैनिकहरुप्रति सम्मानजनक व्यवहार भइरहेको तथा उपयुक्त प्रक्रिया र समयमा उनीहरुलाई रिहा गरिने कुरा पनि हामी सार्वजनिक गर्न चाहन्छौं । साथै शाही सेनाबाट आफ्नो पराजय र कायरताको ढाकछोप गर्न विकट गाउँबस्ती र निर्दोष एवं निहत्था जनतामाथि भइरहेको अन्धाधुन्ध हवाइ आक्रमणबारे आवाज उठाउन पनि हामी सबै मानवअधिकारवादी संघ–संस्थासंग हार्दिक आग्रह गर्दछौं ।

४– विकास–निर्माणसंग सम्बन्धित ग्ल्म्ए तथा विभिन्न ल्न्इ, क्ष्ल्न्इ बारे नीतिमा केही अस्पष्टता र क्षेत्रीय असमानता रहंदै आएका छन् । निश्चय नै संयुक्त राष्ट्र संघका विकास प्रयत्नहरुलाई सहयोग पुर््याउने पार्टी नीति स्पष्ट रहंदै आएको छ । त्यसलाई देशभर एकरुपताका साथ र दृढतापूर्वक कार्यान्वयन गर्न, गराउन हालै पार्टीले निर्देशन जारी गरेको छ र त्यसको सकारात्मक परिणाम निस्कने कुरामा पार्टी विश्वस्त छ । जहांसम्म विभिन्न ल्न्इ, क्ष्ल्न्इ हरुको प्रश्न छ, उनीहरुका सन्दर्भमा क्षेत्रीय र जिल्ला स्तरका स्थानिय पार्टी र जनसरकारसंग समन्व्य र समझदारी कायम गरि काम गर्ने, गराउने भन्ने पार्टी निर्णय रहेको छ । यस सम्बन्धमा कुनै समस्या देखा परेमा हाम्रो पार्टी र सम्बन्धित संघ, संस्थाका केन्द्रीय निकायहरुका बीचमा छलफल गरि समस्याहरुको समाधान गर्ने नीति पनि स्पष्ट गरिएको छ ।

मिति ः– २६ श्रावण २०६२

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)