2005-08-08 - press release - CPN-M२०६२-०४-२४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20910 अभिलेखालय सि. नं.: NCA-20910

ने.क.पा.(माओवादी)
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन

प्रेस वक्तव्य

क्रान्तिको नियमअनुसार नेपाली जनयुद्ध असाधारण जटिलताहरुविरुद्ध संघर्ष गर्दै रणनैनिक प्रत्याक्रमणमा प्रवेश गरी यसको पहिलो योजनाको एउटा उँचाइमा विजयपूर्वक अघि बढिरहेको छ । मालेमावाद र प्रचण्डपथको आलोकद्वारा निर्देशित जनमुक्ति सेनाले साम्राज्यवादी युद्धप्रविधि तथा तालिमद्वारा सुसज्जित श्वेत सेनामाथि आफ्नो सैन्य श्रेष्ठतासमेत हासिल गरिरहेको छ ।

यही प्रक्रियामा जनमुक्ति सेनाको पश्चिम डिभिजनले कालिकोट पिलीमा रहेको श्वेत सेनाको आधार शिविरमाथि यही साउन २३ गते साँझ ५ः४० बजे आक्रमण शुरु गरी साउन २४ गते विहान ४ बजे सान्दार विजय हासिल गरेको कुरा सगर्व जानकारी गराउँदछौं । जनमुक्ति सेनाले ८१ एमएम ब्यारेल एक थान र सोको बम १५०, जीपीएमजी एक नाल र सोको गोली पाँच हजार, एलएमजी २० नाल र सोको गोली १२ हजार, इन्सास राइफल ७० नाल र सोको गोली ३० हजार, एसएलआर ८० नाल र सोको गोली २१ हजार, एसएमजी दुई नाल र सोको गोली तीन हजार, ब्राउनिङ पेस्तोल दुई नाल र सोको गोली दुई हजार र टुइन्च मोर्टार दुई ब्यारेल र सोको बम दुई सयलगायत उच्च विस्फोटक पदार्थ तथा महत्वपूर्ण युद्ध सामग्रीहरु कब्जा गरेको छ । कथित सुरक्षाकर्मीहरु दुई सय ५० को संख्यामा रहेका मध्य एक सय ५९ जनाको सफाया भएको र ५० जनाभन्दा बढीलाई युद्धबन्दी बनाइएको छ ।

जनमुक्ति सेनातर्फ बटालियन कमिसार क.लोकेश (शरद अवस्ती) लगायत २६ जना योद्धाहरुले शहादत प्राप्त गर्नुभएको छ भने केही योद्धाहरु घाइते हुनुभएको छ । यो विजय हासिल गर्नका लागि उच्च मनोबल, बलिदानीपूर्ण भावना र प्रचण्डपथको विचारले लैश भएको जनमुक्ति सेनाको कठिन प्रयास तथा सो विचारद्वारा निर्देशित र प्रेरित गर्ने सर्वाेच्च कमाण्डर क.प्रचण्डको अहम् भूमिका रहेको छ । निरंकुशताविरोधी राजनीतिक शक्तिहरुको शुभेच्छाले पनि यो विजयका लागि प्रेरित गरेको थियो । यो विजय साम्राज्यवाद, सामन्तवाद र गैरसर्वहारा वर्गीय प्रवृत्ति विरुद्धको पनि विजय हो ।

यो महत्वपूर्ण विजयका लागि आफ्नो अमूल्य जीवनको आहुति गर्नुहुने बटालियन कमिसार क.लोकेश (शरद अवस्ती) लगायत वीर शहीदहरुप्रति नतमस्तक हुँदै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजन र सहयोद्धाप्रति रगतको इतिहासले युग बदल्नेको बलिदानपूर्ण संस्कृतिलाई आत्मसात गर्न प्रेरित गरोस् भन्ने कामनाका साथ हार्दिक समवेदना प्रकट गर्दछौं । घाइते कमरेडहरुको शीघ्र स्वास्थ्य–लाभको लागि हार्दिक कामना गर्दछौं । यस कारवाहीको योजना निर्माण तथा यसको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डिभिजन सहायक कमाण्डर कमरेड विविधलगायत विभिन्न तहका कमिसार, कमाण्डर तथा योद्धाहरु, स्थानीय पार्टी र आधार इलाकाका जनसमुदायहरुलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौं ।

अन्त्यमा हार्दा–हार्दै पनि जित्नु नै युद्धको नियम हो भन्ने कुरालाई क्रान्तिकारीहरुले आत्मसात गरौं † अन्तिम विजय सुनिश्चित छ ।

मितिः २०६२ साउन २४ गते

क्रान्तिकारी अभिवादनसहित

प्रभाकर
कमाण्डर
पश्चिम डिभिजन
जनमुक्ति सेना, नेपाल
ने.क.पा.(माओवादी)