2005-08-04 - press release - CPN-M२०६२-०४-२० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20911 अभिलेखालय सि. नं.: NCA-20911

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
केन्द्रीय समिति

प्रेस वक्तव्य

परिवर्तनप्रेमी जनताको हत्या गर्न जन्मिएको ज्ञानेन्द्र शाहीका विरुद्ध मृत्युघण्टी बजाउने सम्पूर्ण गणतन्त्रप्रेमी युवा साथीहरुलाई हाम्रो संगठन सम्मान गर्न चाहन्छ र यो बाटोबाट विचलित नभई अझ अगाडि बढ्न समेत आह्वान गर्दछ ।

यही यात्राको क्रममा हाम्रो संगठनका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीलगायत ८ जना नेता–कार्यकर्ताहरुलाई साउन १८ गते चितवन पटेयानीको विद्यालयबाट शाही रक्षकहरुले गिरफ्तार गरी बेपत्ता बनाएको छ । हाम्रा नेता–कार्यकर्ताहरुको गिरफ्तारीप्रति तीव्र आक्रोश व्यक्त गर्दै उहाँहरु सबैलाई तत्कालै रिहा गर्न शाही सत्तासँग माग गर्दछ । अन्यथा, यो घटनाको मूल्य शाही सत्तालाई असाध्यै महंगो हुने छ । साथै सबै जनपक्षीय शक्तिहरुले विद्यार्थी नेता रामचन्द्रलगायतकाको जीवन रक्षा एवं रिहाइको लागि गम्भीर पहल सुरु गर्नका लागि समेत अनुरोध गर्न चाहन्छौं ।

शाही सत्ताको दाहसंस्कार गर्ने अभियानमा लाग्दा राजकाज मुद्दा लाग्छ भने स्वीकार्य छ भनेर गणतन्त्रप्रति दह्रो खुट्टा टेक्ने विद्यार्थी नेता गगन थापाप्रति सम्मान र ऐक्यबद्धता जनाउँदै उहाँलगायत कथित राष्ट्रवादी शिक्षा विरुद्ध बोल्दा गिरफ्तारीमा परी बन्दी हुनु भएका अनेरास्ववियुका महासचिव ठाकुर गैरे, नेविसंघका उपसभापति प्रदीप पौडेललगायत सबै विद्यार्थी नेताहरुको तुरुन्त रिहाइको जोडदार माग राख्दछ ।

शाही सत्ताको प्रजातन्त्रविरोधी सबै हर्कत एवं प्रतिगामी विद्यार्थीविरोधी कथित राष्ट्रवादी शिक्षा नीतिलाई संयुक्त संघर्षको तागतले मात्र ठेगान लगाउन सक्ने वास्तविकताप्रति गम्भीर हुँदै यसको ठोस पहल गर्न सात विद्यार्थी संगठनसँग हाम्रो संगठन पुनः आग्रह गर्दछ ।

२० साउन २०६२

लेखनाथ न्यौपाने
अध्यक्षे
अखिल (क्रान्तिकारी) केन्द्रीय समिति