2005-07-29 - press release - NA२०६२-०४-१४ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-19376 अभिलेखालय सि. नं.: NCA-19376

सीपमुलक तालिमको समापन

माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री श्रीमती दुगा श्रेष्ठले आज मिति २०६२ श्रावण १४ गते सैनिक अधिकृत श्रीमती संघ (शाही नेपाली सेना) द्धारा वीरगति प्राप्त वीर सैनिकका श्रीमतीहरुको सहयोगार्थ सञ्चालित ३ महिने सीपमूलक तालिमको छाउनी व्यारेक हातामा आयोजित एक समारोहमा समापन गर्नु भयो । स्मरण रहोस् यस अघि सैनिक अधिकृत श्रीमती संघको सक्रियतामा ६ वटा सीपमूलक तालिमहरु सम्पन्न भई सकेका छन् ।

समापनका अवसरमा मन्त्री श्रीमती श्रेष्ठले प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । सो समारोहमा बलाध्यक्ष रथी श्री रुकमाङ्गद कटवालले वीरगति प्राप्त वीर सैनिकहरुको सम्मान स्वरुप शाही नेपाली सेनाको तर्फाट निजहरुका श्रीमतीहरुलाई कदर पत्र प्रदान गर्नु भयो ।

सैनिक अधिकृत श्रीमति संघ (शाही नेपाली सेना) की अध्यक्ष श्रीमती कमला थापाले प्रत्येक प्रशिक्षार्थीलाई नगद रु.५,०००।- र १/१ थान सिलाई मेशिन उपहार स्वरुप प्रदान गर्नु भयो । साथै सोही समारोहमा संघकी अध्यक्ष कमला थापाले संघ तथा तालिमलाई सहयोग पुर्‍याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई संघको प्रतिक चिन्ह मोमेन्टो प्रदान गर्नु भएको थियो । गत बैशाख २० गते प्रारम्भ भएको ३ महिने उक्त सिलाई तालिममा विभिन्न जिल्लाबाट आएका २८ जना प्रशिक्षार्थीहरु सम्मिलित थिए । हालसम्म उक्त तालिमबाट १८५ जना वीरगति प्राप्त वीर सैनिकका श्रीमतीहरु लाभान्वित भइसकेका छन् ।

उक्त समारोहमा संघकी अध्यक्ष कमला थापाले संघको सक्रियतामा हालसम्म संचालित कल्याणकारी कार्यक्रमहरुको बारे जानकारी दिंदै भक्तपुरस्थित विरेन्द्र सैनिक आवासिय मा.वि.मा अध्ययन गर्न २२ जनालाई संघबाट दिपेन्द्र छात्रवृत्ती प्रदान गरीएको साथै विजेश्वरीमा वीरगति प्राप्त सैनिकका छोरीहरुको लागि आशाकिरण छात्रावास संचालन गरिएको बारे बताउनु भएको थियो ।

RNA HQ
29 July 2005