2005-07-19 - press release - CPN-M२०६२-०४-०४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-19299 अभिलेखालय सि. नं.: NCA-19299

प्रेस वक्तव्य

विगत केही समयदेखि हाम्रो पार्टीभित्र चल्दै आइरहेको विशिष्ठ प्रकृतिको अन्तरसंघर्ष नयाँ आधारमा नयाँ एकता कायम गर्ने प्रतिवद्धता सहित समाधान गर्ने निर्णय भएको कुरा अध्यक्ष क.प्रचण्डद्धारा यही श्रावण ३ गते सार्वजनिक गरिएको छ। नेपाली जनमुक्ति आन्दोलनको नेतृत्व गर्दै आइरहेको क्रान्तिकारी पार्टीको एक जिम्मेवार सदस्यको नाताले म उक्त निर्णयको हार्दिक स्वागत गर्दछु र विकसित विचार तथा राजनीतिक कार्यदिशाको आधारमा पार्टीलाई नयाँ ढंगले संगठित र रुपान्तरित गर्दै लैजाने कुराप्रति आफनो पूर्ण प्रतिवद्धता जाहेर गर्दछु। पार्टीभित्र र वाहिरका विविध प्रवृत्तिहरुले एउटा जीवन्त र क्रान्तिकारी पार्टीभित्र चल्ने अन्तरसंघर्षलाई व्यक्तित्वको टक्कर वा व्यक्तिविशेषको गुण अवगुणको प्रतिफलको रुपमा अपव्याख्या गर्ने र अन्तरसंघर्षलाई अस्वस्थ र शत्रुतापूर्ण रुप दिने जतिसुकै प्रयत्न गरे पनि अन्तत: यो प्रश्न वीसौं शताव्दीको भीषण क्रान्ति र प्रतिक्रान्तिको अनुभवसहित एक्काईसौं शताव्दीमा मा-ले-मावादको विज्ञानलाई विकसित गर्ने र नेपालको ठोस विशिष्ठतामा त्यसलाई लागू गर्ने विषयसंग सम्वन्धित छ र त्यही नै हाम्रो पार्टीको नेतृत्व पंक्तिवीचमा एकताको मूल आधार हो भन्ने कुरालाई दह्रोसंग आत्मसात गर्न पनि म सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरुमा हार्दिक आग्रह गर्दछु। विशेषत: ऐतिहासिक दोश्रो राष्टि्रय सम्मेलन र एक्काईसौं शताव्दीमा जनवादको विकास सम्वन्धी प्रस्तावको जगमा उभिएर नै हामीले मा-ले-मावादलाई थप विकास गर्न सक्दछौं र पार्टीमा नयाँ आधारमा नयाँ एकता कायम गर्न सक्दछौं भन्ने कुरालाई हामी सवैले ठीकसंग ग्रहण गर्न जरुरी छ। त्यसरी नै व्यक्तिका कमीकमजोरीहरुलाई आलोचना र आत्मालोचनाको तरिकाले र वैचारिक-राजनैतिक प्रश्नहरुलाई स्वस्थ दुई-लाइन संघर्षको तरिकाले हल गर्ने लेनिनवादी संगठनात्मक पद्धतिलाई हामीले संस्थागत गर्न जरुरी छ र अहिले हामी त्यही विधिको प्रयोगबाटै पार्टीभित्रका समस्या हल गर्न उद्दत भैरहेका छौं भन्ने कुरामा म विश्वस्त्त छु र सवै कमरेडहरुलाई समेत विश्वस्त रहन आग्रह गर्दछु। त्यसैले कसैले पनि हार र जितको मानसिकता नलिएर सबैखाले गुटपरस्त र फुटपरस्त प्रवृत्तिहरुलाई पराजित गर्दै नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्ने दिशामा अघि वढन पार्टी नेतृत्वलाई हरतरहले साथ दिन म सम्पूर्ण क्रान्तिकारी सहयोद्धा कमरेडहरुमा हार्दिक आग्रह गर्दछु।

अन्त्यमा, तत्काल देशमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापना निम्ति संसदवादी दलहरुसंग समेत सहकार्यको सम्भावना वढदै गैरहेको स्थितिमा हाम्रो पार्टीले अघि सार्दै आएको लोकतान्त्रिक गणतन्त्रको न्यूनतम कार्यनीतिक नारालाई सफल पार्न पनि सम्पूर्ण पार्टी एक ढिक्का हुनु जरुरी भएको छ। त्यसैले दरवारिया तत्वहरु र तिनका विदेशी मालिकहरुले संसदवादी पार्टीहरु र हाम्रो पार्टीभित्र समेत अन्तरध्वंस र फुट पार्न सक्ने खतराप्रति सचेत र सतर्क रहँदै देशमा संयुक्त लोकतान्त्रिक आन्दोलनको आँधीवेहरी सिर्जना गर्न र नयाँ क्रान्तिकारी ध्रुवीकरणको मार्ग प्रशस्त गर्न म सम्वन्धित सवैसंग विनम्र अपील गर्दछु।

मिति २०६२ श्रावण ४ गते

बाबुराम भट्टराई
स्थायी समिति सदस्य
ने.क.पा.(माओवादी)