2005-06-15 - press release - CPN-M२०६२-०३-०१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20970 अभिलेखालय सि. नं.: NCA-20970

जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन कार्यालय
ने.क.पा(माओवादी)

प्रेस वक्तव्य

कैलाली जिल्लाको कथित बडीमालिका सशस्त्र तालिम केन्द्रका जवानहरुको परिवार र बच्चासहित छ जनाको हत्या गरेको भन्ने समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

सर्वप्रथमतः उक्त घटनामा नेकपा (माओवादी) र जनमुक्ति सेनाको कुनै पनि हात नभएको स्पष्ट गर्दछौं। सो घटना उनीहरुको अन्तरकलह र अन्तरविरोधको पराकाष्ठाको एउटा नमूना मात्र हो। मानवताविरोधी आपराधिक यस्ता घटनाहरु घटाउने त परै जाओस् यस्तो हामी सोंच्न पनि सक्दैनौं। युद्ध मैदानबाटै गिरफ्तार सैनिकहरुलाई रिहा गर्दै आएको स्थितिमा विना कारण परिवारजनको हत्या गर्ने कुरा कुनै पनि क्रान्तिकारीले कल्पना पनि गर्न सक्दैन।

जहाँसम्म हामीमाथिको आरोपको कुरा छ, यसको निम्न कारणहरु हुनसक्छन। पहिलो, उनीहरु सिधै लड्न नसकी यस्तै षड्यन्त्रमूलक आरोपहरुद्वारा जनमुक्ति सेनाप्रति विश्व जनमतलाई भ्रम सिर्जना गरी आफ्नो आयु लम्ब्याउने दुस्साहस गर्दैछन्। दोश्रो, जनसेनाप्रति तल्ला जवानहरुमा भ्रम सिर्जना गरी उनीहरुको भागदौडलाई रोक्ने हत्कण्डाका रुपमा यस्ता घटनाहरु नियोजित ढंगले घटाएका हुन सक्छन्। तेश्रो, यस्तो आपराधिक घटनाको छानविन गर्दा आफैतिर समस्या आइलाग्ने भएपछि यो छानविनको दायित्वबाट च्यूत हुने परिणति पनि हो।

यो मानवताविरोधी घटना हालै शंकरपुर र आमखैयामा भएको शर्मनाक पराजयबाट उत्पन्न विचलित मानसिकताको उपजवाहेक केही होइन। हामी यो आरोपको कडा प्रतिवाद गर्दछौ र हामी जिम्मेवार क्रान्तिकारीहरुमाथि लगाइएका आरोपको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछौं।

२०६२ असार १ गते

प्रभाकर
कमाण्डर
पश्चिम डिभिजन कार्यालय
जनमुक्ति सेना, नेपाल
ने.क.पा(माओवादी)