2005-06-09 - press release - INSEC२०६२-०२-२६ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19010 अभिलेखालय सि. नं.: NCA-19010

प्रेस विज्ञप्ति

०६२ जेठ २६ गते

प्रेस विज्ञप्ति

दोलखा जिल्ला, डाँडाखर्क गाविस-२ का ३४ वर्षीय कर्णबहादुर मगर र काठमाण्डौ महानगरपालिका-४, चण्डोलका २० वर्षीय बब्लु तामाङलाई अदालत परिसरबाट पुनः पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।

सर्वोच्च अदालतले कर्णबहादुर मगरको गिरफ्तारी गैरकानूनी भएको ठहर गरी उनको रिहाइको लागि जेठ १८ मा आदेश जारी गरेको थियो। आदेशपछि पनि मगरलाई जेठ २५ मा मात्र काठमाण्डौ जिल्ला अदालतसामु उपस्थित गराइयो। रिहा भएर अदालत परिसरबाट बाहिर निस्कन नपाउँदै उनलाई पुनः गिरफ्तार गरियो। पीडितलाई बचाउने प्रयास गर्ने व्यक्तिहरूमाथि प्रहरीले लाठी प्रहारसमेत गर्‍यो भने कर्णबहादुरका नातेदार इलाम, डाँडाबारी गाविस-१ का ३५ वर्षीय बालकृष्ण पौडेललाई समेत गिरफ्तार गर्‍यो।

बब्लु तामाङलाई जेठ १९ मा अदालत परिसरबाटै पुनः गिरफ्तार गरियो। यसअघि उनको गिरफ्तारी गैरकानूनी भएको ठहर गरी सर्वोच्च अदालतले जेठ १२ गते उनको रिहाइको लागि आदेश जारी गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि पनि मगरलाई जेठ १९ मा मात्र काठमाण्डौ जिल्ला अदालतसामु उपस्थित गराइएको थियो।

कर्णबहादुर मगर र बब्लु तामाङको पुनः गिरफ्तारी कुनै अपवाद नभई देशमा भइरहेका यस्ता घटनाका थप उदाहरण हुन्। न्यायपालिकाको आदेशलाई अवहेलना गर्दै बारम्बार भइरहेका यस्ता पुनः गिरफ्तारीका घटनाको हामी घोर भर्त्सना गर्दछौं। कानुनी शासनको अवधारणा विपरीत भइरहेका यस्ता क्रियाकलाप तुरुन्त रोकिनु पर्दछ। पीडितहरुको तत्काल रिहाइका लागि हामी जोडदार माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष