2005-05-27 - press release - CPN-M२०६२-०२-१३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20982 अभिलेखालय सि. नं.: NCA-20982

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस विज्ञप्ति

केही समय यता हाम्रो पार्टीको आन्तरिक जीवन र यसका कतिपय नीतिगत विषयमा विभिन्न वृत्तबाट उठिरहेका चर्चाबारे आफ्नो धारणा स्पष्ट गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१) हाम्रो पार्टी नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समयसम्म जरा गाडेका राजापरस्त र भारतपरस्त विचलनका विरुद्ध कठोर विचारधारात्मक र राजनीतिक संघर्षका बीचबाट विकसित भएको हो। राष्ट्रियता र जनतन्त्रको अविभाज्य सम्बन्धलाई स्पष्ट परिभाषा गरेर नै हाम्रो पार्टीले सर्वहारा वर्गको स्वतन्त्र राजनीतिक धाराको विकाससहित महान् जनयुद्धको पहल र नेतृत्व गर्दै आएको छ। विशुद्ध कार्यनीतिक अर्थमा बाहेक रणनीतिक दृष्टिले एक वा अर्काेलाई प्रमुख वा गौण ठान्नु गम्भीर विचलन हुने वस्तुगत यथार्थलाई आत्मसात गरेर नै हाम्रो पार्टीले प्रधान अन्तरविरोधको निक्र्यौल गर्दा भारतीय विस्तारवादद्वारा संरक्षित घरेलु प्रतिक्रियावादसँगको अन्तरविरोधलाई प्रधान मानेको हो। पार्टीले यो मूल रणनीतिमा दृढ अडान लिंदै आन्दोलनको उतार–चढाव र परिस्थितिको हेरफेरसँगै आफ्नो कार्यनीतिमा पर्याप्त लचकताको प्रदर्शन पनि गर्दै आएको छ। पार्टीको यो आफ्नो स्वतन्त्र आधिकारिक नीति यथावत रहेको तथ्य हामी पुनः स्पष्ट गर्न चाहन्छौ।

२) गत माघ १९ गतेको राजाको निरंकुश कदमका विरुद्ध आवाज उठाउने देशभित्र र देश बाहिरका विभिन्न राजनीतिक दल, शक्ति, नागरिक समाज र बौद्धिक समुदायसँग सम्बन्ध, अन्तरक्रिया र तालमेल कायम गर्दै निरंकुशताविरोधी आन्दोलनलाई व्यापक र मोर्चाबद्ध तुल्याउन प्रयत्न गर्नु पार्टीको तात्कालिक राजनीतिक कार्यनीति हो। संविधान सभाको निर्वाचनलाई न्यूनतम राजनीतिक निकासको माध्यम मान्दै पार्टीले यसै नीतिअन्तर्गत देशभित्र मात्र नभएर भारत, यूरोप, अमेरिकालगायत विश्वका विभिन्न राजनीतिक दल र शक्तिसँग सम्बन्ध कायम गरी नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा वातावरण तयार पार्न प्रयत्न गरिहेको छ। यसै सिलसिलामा भारतका विभिन्न राजनीतिक दलका साथै भारत सरकारको समेत स्थिति बुझ्ने तथा पार्टीका धारणाहरु राख्ने जिम्मेवारी दिएर केन्द्रीय कार्यालयले सो प्रयोजनका निमित्त क. कृष्णबहादुर महरा र क. बाबुराम भट्टराईलाई विशेष रुपले खटाएको हो। पार्टीको यो जिम्मेवार निर्णयलाई आन्तरिक विवाद र कमरेड बाुबराम भट्टराईको व्यक्तिगत सक्रियताका रुपमा प्रचार गरेर प्रतिक्रियावादी तत्वहरुले पार्टीमा फूट पार्ने षड्यन्त्रलाई तीव्रता दिने दुश्प्रयास गरिरहेका छन्। हाम्रो पार्टी यसप्रकारको दुस्प्रचारप्रति सावधान रहन सम्पूर्ण जनपक्षीय शक्ति र आम जनमुदायसँग हार्दिक अनुरोध गर्दछ।

३) महान् जनयुद्ध र समग्र जनवादी आन्दोलनको विकासको नयाँ अवश्यकता अनुसार पार्टीलाई नयाँ वैचारिक स्तरबाट एकताबद्ध गर्ने पहलस्वरुप अहिले हाम्रो पार्टीमा बहस र शुद्धीकरणको प्रक्रिया चलिरहेको छ। २१ औ शताब्दीमा जनवादको विकास सम्बन्धी ऐतिहासिक प्रस्तावको मर्मअनुसार हामीले आफ्ना कतिपय आन्तरिक बहसका विषयलाई सार्वजनिकसमेत गरेका छौं। जनदिशालाई नयाँ उँचाइमा उठाउने जनवादको यो अभ्यासले अन्ततः पार्टीमा बलियो एकता कायम हुने कुरामा हामी स्पष्ट छौं। यो अभ्यासले पार्टीको आन्तरिक जीवनबारे जानकारी पाउने जनताको अधिकारलाई मात्र व्यक्त गर्ने छैन अपितु पार्टीका कमी–कमजोरी सच्याउने जनताको सक्रिय भूमिकालाई पनि उजागर गर्नेछ। हाम्रो यो नयाँ अभ्यासबाट पार्टीमा फूटको सपना देख्ने प्रतिक्रियावादी र अवसरवादी तत्वहरुको क्षणिक आत्मरतिलाई उनीहरुको भयानक दुस्वप्नमा परिणत गर्दै हामी नयाँ आधारमा एकताबद्ध भई छाड्नेछौं। हजारौं शहीदहरुको रगतद्वारा सिंचित हाम्रो महान् पार्टीलाई आफ्नो ऐतिहासिक कर्तव्य पूरा गर्ने अभिभाराबाट कसैले विचलित गर्न सक्ने छैन। यहाँ अमुक हामी व्यक्तिको प्रश्न नभएर हाम्रो पार्टी ऐतिहासिक अभियानको नायक बनिसकेको छ जसका पछाडि हजारौ क्रान्तिकारी उत्तराधिकारी र लाखौंलाख जनमुुदाय लामबद्ध भइसकेका छन्।

४. सामन्ती निरंकुशता विरोधी आन्दोलनको वर्तमान स्थितिमा हाम्रो पार्टीले कुनै पनि देशलाई पुरानो सत्तासँग वार्ताको मध्यस्थतता लागि आग्रह गरेको छैन। निश्चय नै गृहयुद्धको राजनीतिक निकासको लागि हामी विगतदेखि संयुक्त राष्ट्र संघ वा भरपर्दाे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था वा तटस्थ देशको मध्यस्थता स्वीकार्ने कुरा गरेका छौं। अहिले पनि हाम्रो त्यो नीति यथावत कायम छ। तर, अहिले निरंकुशताविरोधी आन्दोलनको सन्दर्भमा भारतमा हाम्रा कमरेडहरुले गरिरहेको राजनीतिक पहल प्रजातान्त्रिक आन्दोलनमा सहयोग जुटाउने पहलभन्दा बढी केही नभएको तथ्य पनि हामी यहाँ स्पष्ट गर्न चाहन्छौं।

२०६२ साल जेठ १३ गते