2005-05-22 - press release - CPN-M२०६२-०२-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-19004 अभिलेखालय सि. नं.: NCA-19004

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तब्य

गत माघ १९ गतेको प्रतिगामी सामन्ती कू का विरुद्ध देशभित्र र वाहिरका जनपक्षीय एवम प्रजातन्त्रवादी शक्तिहरु एकतावद्ध हुँदै जाने प्रक्रियासँगै अस्तित्वको संकट भोग्न थालेका निरंकुशतावादी तत्वहरुले झूट्टा प्रचार र षडयन्त्रको विश्व रेकर्ड नै बनाउँदै छन। यस सन्दर्भमा सामन्ती तत्वहरुको सर्वाधिक षडयन्त्र र फतुर हाम्रो महान पार्टी र यसको नेतृत्वमा रहेको अपराजय जनमुक्ति सेनाका विरुद्ध केन्द्रित गर्ने दुस्साहस गरिरहेका छन। सामन्ती हत्याराहरुका तमाम दुस्प्रचारलाई पराजित मानसिकताको पागलपूर्ण प्रलाप सावित गर्र्दै महान जनयुद्ध आफनो योजनाअनुसार निरन्तर अगाडि बढिररहेको छ।

षडयन्त्रको पछिल्लो कडीको रुपमा नितान्त भिन्न समय, सन्दर्भ र धेरै पहिलेको हाम्रो एउटा अडियो क्यासेट प्रचार गरेर सामन्ती तत्वहरुले हाम्रो पार्टी एवम देशभित्र र वाहिरका जनपक्षीय शक्तिहरुको बीचको बढदो एकतालाई कमजोर पार्ने दिवास्वप्न देखिररहेका छन। उनीहरुको यो दिवास्वप्न कहिल्यै पूरा हुने छैन। किनकि त्यो क्यासेटमा क.बाबुराम भट्टराईसँग सम्बन्धित कतिपय कुराहरुलाई घटनाक्रमको विकासले अहिले गलत सावित गरेको तथा त्यसबाट शिक्षा लिएर हाम्रो पार्टी आफैभित्र नयाँ आधारमा एकताबद्ध भई सबै जनपक्षीय शक्तिहरुसँग व्यापक मोर्चा बनाउन पहल सुरु गरिसकेको छ। अत: सामन्ती तत्वहरुका षडयन्त्रको भ्रममा नपरी प्रजातान्त्रिक आन्दोलनलाई पूर्णता प्रदान गर्न हाम्रो पार्टी सबै जनपक्षीय र प्रजातन्त्रवादी शक्तिहरुसँग हार्दिक अपील गर्दछ।

२०६२ जेठ ८ गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति