2005-02-06 - press release - CPN-M२०६१-१०-२४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20988 अभिलेखालय सि. नं.: NCA-20988

अखिल नेपाल महिला संङघ (क्रान्तिकारी)
केन्द्रीय समिति

प्रेस बक्तव्य

साम्राज्यवाद र विस्तारवादको आडमा टिकेको शाही फासीवादी सत्ताले नेपाल र नेपाली जनताको विरुद्ध माघ १९ गतेको कथित शाही घोषणा मार्फत फौजी फासीवादको घोषणा गरेको छ। यो घोषणा आफ्नै वंशको सर्वनाश गर्ने कुख्यात नारायणहिटी हत्याकाण्डको निरन्तरता र जनताको अधिकारलाई खण्डित गरी आफूलाई टिकाइराख्ने असफल प्रयास मात्र हो। हाम्रो सङ्गठन अ.ने.म.सङ्घ (क्रान्तिकारी) यसको घोर विरोध र भत्र्सना गर्दछ। र यसका विरुद्ध सङ्घर्षको आँधीबेहरी सृष्टि गर्न सबै तह र तप्काका महिला दिदी बहिनीहरुलाई जोडदार आव्हान गर्दछ।

हजारौं वर्षको पितृसत्तावादी सामन्ती उत्पीडनमा परेका नेपाली महिलाहरु महिला मुक्ति आन्दोलन र सर्वहारावर्गको नेतृत्वमा सञ्चालित जनयुद्धको प्रक्रियामा सहभागी बनेर आन्दोलन र युद्धका सबै मोर्चामा उल्लेखनीय भूमिका र वलिदानका उच्चतम कीर्तिमानहरु कायम गर्दे आफूमाथिका सबै प्रकारका उत्पीडनका विरुद्ध लड्दै आएको कुरा सर्वविदितै छ। विशेषगरी राज्यसत्ताको महत्वपूर्ण र निर्णायक शक्ति जनमुक्ति सेनामा महिलाको व्यापक सहभागिताले पुरानो सत्तालाई पराजित गर्न र महिला मुक्ति आन्दोलनलाई नयाँ उँचाइ प्रदान गर्न ऐतिहासिक भूमिका खेलेको छ। यसको परिणाम देशको असी प्रतिशत भू–भागमा नयाँ सत्ताको अभ्यास भइरहेको र त्यहाँ महिलाहरुले सामन्ती उत्पीडनबाट मुक्त हुँदै समान अधिकारको अभ्यासमा जुटिरहेको तथ्य सबैका सामु प्रष्ट छ।

यस्तो परिस्थितिमा देशी र विदेशी प्रतिक्रियावादीहरुले पुनः एकपटक इतिहासको रथलाई पछि धकेल्ने दुश्प्रयास गरेका छन्। उनीहरुको यस कदम देशलाई सर्वनाश गर्ने बाहेक अरु हुनै सक्दैन। जनता नै इतिहासका अपराजय शक्ति हुन् र प्रतिक्रियावादीहरुका हर षड्यन्त्रहरुलाई चकनाचुर पार्न सक्षम छन्। यो ऐतिहासिक यथार्थतालाई आत्मसात गर्दै सबै न्यायप्रेमी र मुक्तिकामी सङ्घ–सङ्गठन, राजनैतिक पार्टी, मानवअधिकारवादी सङ्घ–संस्था, पत्रकार जगत लगायत सबै तह र तप्काका जनसमुदायलाई शाही निरङ्कुशतन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्न हाम्रा सङ्गठन हार्दिक अपील गर्दछ।

२०६१ माघ २४ गते

जयपुरी घर्ती
अध्यक्ष
अ.ने.म. सङ्घ (क्रान्तिकारी)
केन्द्रीय समिति