2005-02-01 - press release - CPN-M२०६१-१०-१९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20990 अभिलेखालय सि. नं.: NCA-20990

नेपाल कम्यूनिष्ट पार्टी(माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central committee

प्रेस वक्तव्य

पूर्ण प्रजातन्त्र अर्थात गणतान्त्रिक व्यवस्थाका निमित्त अग्रसर एक्काईसौं शताब्दीका महान् नेपाली जनताका विरुद्ध मध्ययुगीन सामन्ती निरङ्कुशतन्त्र थोपर्ने नियोजित दुश्साहस अन्तर्गत कुख्यात नारायणहिटी हत्याकाण्डको मञ्चन गर्ने भाइमारा, जनहत्यारो, भ्रष्ट एवं देशघाती ज्ञानेन्द्र शाहीको गिरोहले अन्ततः आफ्नो चेहरा जनसमक्ष उदाङ्गो पारेको छ। आज विहान १० बजेको कथित शाही घोषणा मार्फत ज्ञानेन्द्र शाहीद्वारा जनताका विभिन्न तह र तप्काका आवश्यकता र भावनाको प्रतिनिधित्व गर्ने तमाम संसदवादी राजनैतिक दलहरु र नागरिक समाजको मानमर्दन गर्ने तुच्छ कसरत मात्र गरिरहेको छैन, अपितु देश र जनताका विरुद्ध अथाह रक्तपात मच्याउने सामन्ती फासीवादको क्रुरता समेत प्रदर्शन गरिएको छ। नेपालको इतिहासमा भ्रष्टाचार, तष्करी, हत्या र आतंकमा सर्वाधिक वदनाम सामन्ती गिरोहको राष्ट्रियता, प्रजातन्त्र, देशभक्त र सार्वभौमिकताको कुरा गर्नु नेपाल र नेपाली जनताको विरुद्ध गरिएको विश्मयकारी प्रदर्शन सिवाय अरु केही हुन् सक्दैन।

वैदेशिक साम्राज्यवाद र विस्तारवादको आडमा सामन्ती निरङ्कुशताको सपना देख्ने इतिहासका ‘भूत’हरुको धम्कीका अगाडि महान् नेपाली जनता कहिल्यै झुक्ने छैनन्। इँटको जवाफ पत्थरले दिने देश र जनताको आजको दुर्दताको निम्ति प्रमुख जिम्मेवारी सामन्ती निरङ्कुशतन्त्रलाई सदाका निमित्त इतिहासको कुँडाकर्कटमा मिल्काएर जनताको नयाँ नेपाल निर्माण गर्ने समय आइसकेको छ। ०४६ सालको जनआन्दोलन र ९ वर्षको महान् जनयुद्ध मार्फत आफ्नो पहिचान गरिसकेका जनसमुदाय आफ्नो गणतान्त्रिक ऐतिहासिक कार्यभार पूरा गर्न सक्षम रहेको तथ्य निर्विवाद छ। इतिहासको नियम अनुसार नेपाली जनताको आमूल परिवर्तनको निमित्त सञ्चालित महान् जनयुद्धको नेतृत्वको हैसियतले हाम्रो पार्टी ज्ञानेन्द्र शाहीको कथित घोषणालाई सम्पूर्ण रुपले खारेज गर्दछ। देश र जनताको मुक्ति र सामन्ती निरंकुशतन्त्रको पूर्ण समाप्तिका निमित्त अन्तसम्म लड्ने प्रतिज्ञा गर्दछ। इतिहासमा आफ्नो आवश्यकता र औचित्य गुमाइसकेको सामन्ती गिरोहको यो अन्तिम पागलपनका विरुद्ध एकजुट भइ संविभानसभा र जनताको लोकतान्त्रिक गणतन्त्रको न्युनतम साझा नारा अन्तर्गत देशव्यापी विद्रोहको आँधीबेहरी सृष्टि गर्न हाम्रो पार्टी देशका सबै राजनैतिक दल, बौद्धिक समुदाय, नागरिक समाज एवं विभिन्न तह र तप्काका जनसमुदायसँग जोडदार अपील गर्दछ। सामन्ती निरंकुशताका विरोधी सबै पक्षसँग सहकार्य र व्यापक मोर्चा कायम गरी अगाडि बढ्न हाम्रो पार्टी तयार रहेको तथ्य पनि हामी यस अवसरमा स्पष्ट गर्न चाहन्छौं।

हाम्रो पार्टीको नेतृत्वमा रहेको महान् जनमुक्ति सेनासँगको प्रत्येक मोर्चामा पराजित हुँदै गएको कथित शाही सेनालाई विघटन गरी उसँग रहेको हातहतियार जनमुक्ति सेनालाई नबुझाएसम्म जनयुद्धको ज्वाला दन्किरहनेछ। हामी कथित शाही सेनामा कार्यरत तमाम जवान र अधिकृतहरुलाई वैदेशिक प्रतिक्रियावादको इसारमा देश र जनताका विरुद्ध आएको कथित शाही घोषणालाई अस्वीकार गर्न, त्यहाँबाट विद्रोह गर्न तथा जनमुक्ति सेनासँग एकाकार बन्दै आफ्ना गरिव आमाबुवा एवंं दाजुभाइ र दिदीबहिनीको रक्षा गर्ने महान् कार्यमा संलग्न हुन विशेष आग्रह गर्दछौं। नेपालको स्वतन्त्रता तथा सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा ज्ञानेन्द्र शाहीको सामन्ती गिरोहले होइन महान् नेपाली जनताले मात्र गर्ने छन्।

नेपाली समाजलाई एक्काईसौं शताब्दीबाट फर्काएर १५ औं शताब्दीतिर लान खोज्ने आजको कथित शाही घोषणाको तत्काल विरोधस्वरुप हाम्रो पार्टीले भोलि माघ २० गतेदेखि २२ गतेसम्म नेपालबन्द गर्न सबै राजनैतिक शक्ति एवं आमजनसमुदायसँग हार्दिक अपील गर्दछ। भावि दिनमा अन्य सबै जनपक्षीय शक्तिसँग विमर्श गर्दै प्रतिरोधलाई अझ सशक्त रुपमा अघि बढाइने कुरा पनि हामी यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहन्छौं। साथै नेपालको यो निरङ्कुशतावादी कदमको विरोध तथा नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनको पक्षमा आवाज उठाउन विश्वका तमाम जनपक्षीय शक्तिहरुसँग हामी हार्दिक अनुरोध गर्दछौं।

१९ माघ २०६१

प्रचण्ड
अध्यक्ष
केन्द्रिय समिति
ने.क.पा.(माओबादी)