2004-11-27 - press release - CPN-M२०६१-०८-१२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20938 अभिलेखालय सि. नं.: NCA-20938

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

राजनैतिक निकासको कुनै ठोस आधार र शान्तिवार्ताको कुनै ठोस वातावरण विना पौष महिनाभित्रको समयसीमा तोकेर गरिएको अमूर्त र धम्कीपूर्ण वार्ताको अपील मार्फत पुरानो सत्ताको देउवा सरकारले वस्तुतः वार्ताको सम्भावनालाई झन् धुमील र जटील तुल्याएको छ। पुरानो सत्ताको सामन्ती प्रतिगमन, बेलगाम सैनिकीकरण, ‘आतंककारी’ कालो अध्यादेश जस्ता निरङ्कुश दमनकारी षडयन्त्रलाई निरन्तरता दिएर गरिने गरिएको वार्ताको अमूर्त अपीलले दुनियाको आँखामा छारो हालेर आफ्नो शक्ति सुदृढीकरण गर्ने प्रतिगामी तत्वहरुको स्वार्थको सेवा मात्र गर्दछ। देशमा बढ्दो वैदेशिक प्रतिक्रियावाद मुख्यतः भारतीय विस्तारवादी हस्तक्षेपलाई रोक्ने, सामन्ती प्रतिगमनलाई परास्त गर्ने तथा गृहयुद्ध र सैनिकीकरणको प्रक्रियालाई अन्त्य गरेर देश र जनतालाई शान्ति, स्वतन्त्रता र प्रगतिको दिशामा डोर््याउन सक्ने आजको एकमात्र उपाय भरपर्दो अन्तर्राष्ट्रिय मध्यस्थतामा शान्तिवार्ता र स्वतन्त्र वातावरणमा संविधानसभाको निर्वाचन मात्र हो भन्ने कुरालाई घटनाक्रमको विकासले झन् प्रशस्त रुपमा प्रमाणित गरिरहेका छन्। यो ऐतिहासिक र प्रजातान्त्रिक दिशामा ठोस पहल गर्नुको सट्टा पटक–पटक अमूर्त वार्ताको अपील गरेर काठमाण्डौमा ‘सत्तासिन’ पार्टीहरुले वैदेशिक प्रतिक्रियावादी र सामन्ती प्रतिगामी तत्वहरुको सैनिक अधिनायकवादका निमित्त रक्षा कवजको भूमिका मात्र खोलिरहेका छन्। निश्चित रुपमा आज देश गम्भीर राजनैतिक सङ्कटमा छ, यो सङ्कटबाट निकास प्राप्त गर्न सम्पूर्ण जनपक्षीय शक्तिहरु एकजुट हुन आवश्यक छ। यो स्थितिमा सामन्ती सैनिक फासीवाद अन्तर्गत कथित संसदीय निर्वाचनको कुरा गर्नु अन्ततः देशलाई झन् भयावह सङ्कटमा धकेलेर प्रतिगमनलाई नै सुदृढ हुने आधार प्रदान गर्नु मात्र हुनेछ। अतः देशका सम्पूर्ण जनपक्षीय राजनैतिक शक्ति, नागरिक समाज, वौदिक समुदायलगायत आम जनता सामु हामी पुनः स्पष्ट गर्न चाहन्छौं कि हाम्रो पार्टी वार्ताका विरुद्ध छैन तर वार्ताका नाममा हुने षडयन्त्रका विरुद्ध भने अन्त्यसम्म लडिरहने छ। षडयन्त्र मुक्त वार्ताको वातावरण सामन्ती प्रतिगमनलाई परास्त नगरी तथा संविधानसभाको निर्वाचनमा नगई अगाडि बढ्न सक्ने स्थिति हामीले देखेका छैनौं।

अन्त्यमा वार्ताका निमित्त त्यस प्रकारको वातावरणका लागि दृढतापूर्वक देशव्यापी जनआन्दोलनमा अगाडि बढ्न हामी सम्पूर्ण जनपक्षीय शक्तिहरुसँग हार्दिक अनुरोध गर्दछौं।

२०६१ मंसिर १२ गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति