2004-11-17 - press release - CPN-M२०६१-०८-०२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20940 अभिलेखालय सि. नं.: NCA-20940

जनमुक्ति सेना नेपाल पश्चिम डिभिजन

प्रेस वक्तव्य

हाम्रो जनमुक्ति सेना नेपालका सुप्रीम कमाण्डर कमरेड प्रचण्डको भाषामा– ‘वार्ताको हल्ला पिटाएर गाउँ–गाउँमा हत्या हिंसा बढाई राख्ने, शान्तिवार्ताका लागि अन्तर्राष्ट्रिय मध्यस्थता अस्वीकार गर्ने, भारतीय विस्तारवादसँग साँठगाँठ गर्दै आफ्नो सैन्य तयारीलाई अगाडि बढाइरहने पुरानो सत्ताको रणनीति’का विरुद्ध ने.क.पा.(माओवादी)को योजनामा जनमुक्ति सेना, नेपाल पश्चिम डिभिजनले एकीकृत अग्रगामी रुपान्तरण अभियान अन्तर्गत आफ्ना काम कारवाहीहरुलाई अगाडि बढाइरहेको छ।

यही २०६१ साल कार्तिक ३० गते जनमुक्ति सेना नेपालले सर्च गर्ने क्रममा पिस्तोलद्वारा आक्रमण गर्न आउने दुश्मन सेनाको एक गुप्तचरलाई कैलालीको मसुरीया वजारमा सफाया गर्नुका साथै अन्य सात जनालाई गिरफ्तार गरी छानवीन भइरहेको छ। यसैगरी सोही दिन धनगडीमा शाही सेनाको एक सदस्यलाई सफाया गरिएको छ।

मंशिर १ गते विहान ७.३० वजेदेखि पश्चिम डिभिजनको एक टुकडीले कथित सुरक्षाफौजको क्याम्प नगिचै कैलालीको पहलमानपुर वजारमा ४ घण्टासम्म मोर्चा खडा गरी सुख्खड व्यारेक र धनगडीवाट आएको दुश्मनमाथि आक्रमण गरी १० जनाको सफाया गरेको छ। हवाई आक्रमणलाई निष्तेज पार्दै बख्तरवन्द गाडीमा आएको दुश्मनलाई क्षतविक्षत पारी दर्जनौलाई घाइते वनाउन सफल भएको छ। यस कारवाहीवाट एम–१६ हतियार १ थान, एसएलआर ४ थान र सोको गोली १२५० थान, टुइन्च मोर्टार सेल २ वटा, म्याग्जीन १६ थान, मिनीमी माला १ थान लगायतका युद्ध सामग्रीहरु कब्जा गर्न सफल भएको छ।

यसक्रममा प्लाटुन कमाण्डर कमरेड आदर्शको शहादत भएको छ भने ४ जना कमरेडहरु सामान्य घाइते हुनु भएको छ। हामी कमरेड आदर्शलाई महान् शहीद घोषणा गर्दै सम्पूर्ण घाइते कमरेडहरुको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। पश्चिम डिभिजनका सहायक कमाण्डर कमरेड विविधको नेतृत्वमा सम्पन्न उक्त कारवाहीमा पार्टीको योजनालाई उच्च स्तरवाट पूरा गर्ने कमाण्डर तथा सदस्यहरुले प्रदर्शन गर्नुभएको वीरता, सौर्य र उच्च वलिदानी भावलाई सरह्राना गर्दै हार्दिक बधाई दिन चाहान्छौं।

२ मंसिर २०६१

प्रभाकर
कमाण्डर
जनमुक्ति सेना, नेपाल
पश्चिम डिभिजन
ने.क.पा.(माओवादी)