2004-10-15 - press release - CPN-M२०६१-०६-२९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18932 अभिलेखालय सि. नं.: NCA-18932

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस विज्ञप्ति

नेपाली जनताको शान्ति , स्वतन्त्रता र परिर्वतनको चाहानाका विरुद्ध सयौं वर्षदेखि साम्राज्यवाद र विस्तारवादद्वारा संरक्षित र निर्देशित घरेलु प्रतिक्रियावादी राज्यसत्ताले आफ्नो शोषण र उत्पीडनको स्वार्थका लागि विभिन्नरुपमा अन्यायपुर्ण युद्ध थोपर्दै आएको सर्वविदितै छ। जनताको उक्त चाहनाको पक्षमा पुरानो सत्ताद्वारा थोपरिएको यसप्रकारको अन्यायपूर्ण युद्धको अन्तका लागि नै हामीले विगत नौं वर्ष देखि जनसमुदायको न्यायपूर्ण युद्धको नेतृत्व गर्दै आएको कुरापनि स्पष्ट नै छ। वार्ता र शान्तिको एक सूत्रिय रट लागाउने पुरानो सत्ता, जनतालाई सम्पूर्ण रुपमा सार्वभौम तुल्याउने कुरा त परै छाडौ, देश र जनताका सामु विद्यमान गंभिर अविश्वास र आशंका हटाउन हामीले राखेका ६बुँदे प्रश्नहरूको स्पष्ट र मूर्त जवाफ दिन समेत असमर्थ हुनुले उसको हैसियत प्रस्ट भैसकेको छ। साम्राज्यवादी , विस्तारवादी सैन्य सहयोग झनै वृद्धि गर्दै लग्नु र देशव्यापि कृत्रिम मुढभेडका नाममा हत्या, आतंकको श्रृंखलालाई तिव्र पार्ने क्रमले पुरानो सत्ता वास्तविक अर्थमा वार्ता र शान्तिको पक्षमा होइन बरु त्यसको वकवास पूर्ण होहल्लाको आवरणमा भीषण युद्धको तयारीमा जुटीरहेको मात्र पुष्टि हुन्छ।

यसै क्रममा विभिन्न मानवअधिकारवादी संघ–संस्था व्यक्तित्व , नागरिक समाज एवं जनसमुदायको अनुरोध र भावनालाई सम्मान गर्दै नेपाली जनताको परम्परागत पर्व दशैंको अवसरमा हाम्रो पार्टी यहि कार्तिक ४ गते देखि १२ गते सम्मका लागी आफ्नो तर्फबाट सम्पूर्ण आक्रमक फौजी कारवाही स्थगित गर्ने घोषणा गर्दछ। हामी यसै वक्तव्य मार्फत सम्पूर्ण पार्टी पंक्ति जनमुक्ति सेना तथा सबै जनसंगठनहरूलाई; धोका, विश्वासघात, वेइमानी र धुर्त्याइ भन्दा अरु केही नसोच्ने प्रतिक्रियावादी सत्ताको कुनै पनि संभावित षड्यन्त्र र हर्कतको विरुद्ध पूर्ण सतर्क तथा सक्रिय रक्षामा रहदै उक्त अवधिमा आफ्ना आक्रमक फौजी कारवाही स्थगित गरी सदाझै जनसमुदायलाई सहयोग गर्न निर्देशन गरिन्छ।

मिति २०६१ आश्विन २९

प्रचण्ड
अध्यक्ष
केन्द्रीय समिति,
ने.क.पा.(माओवादी)