2004-09-24 - press release - CPN-M२०६१-०६-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20923 अभिलेखालय सि. नं.: NCA-20923

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

हालै पुरानो सत्ताको देउवा सरकारले गरेका वार्ता आह्वानप्रति हाम्रो ध्यान आकर्षित भएको छ। यससम्बन्धी हाम्रो पार्टीको स्थितिलाई निम्न अनुसार स्पष्ट गरिन्छ।

२०५९ आश्विन १८ को प्रतिगामी कदमपछि पुरानो सत्ताको वास्तविक अधिकार वैदेशिक प्रतिक्रियावादको निर्देशनमा सामन्ती दरबार र शाही सेनाका जनरलहरुका हातमा केन्द्रित रहेको तथ्य त्यसपछिका कथित प्रधानमन्त्रीहरुको नियुक्ति, पुनर्नियुक्तिको विधि, प्रक्रिया र आचरणले स्पष्ट गरेका छन्। शान्तिवार्ताको एक सुत्रीय आह्वान गर्ने मात्र नभएर आधिकारिक पत्राचार मार्फत वातावरण समेत बनाउन पहल गरेका कारण हाम्रो पार्टी देश र जनताका आधारभूत हितप्रति पूर्ण जिम्मेवारीका साथ पहिले चन्द र पछि थापाकालमा समेत वार्तामा बसेको कुरा सर्वविधितै छ। तर वार्ताकालमै भएका सरकार परिवर्तनका खेलहरु, वार्तामा भएका पाँच कि.मी.सम्बन्धी सहमति समेतलाई शाही सेनाका जनरलहरुले गरेको ठाडो अस्वीकृति तथा वार्ता चल्दाचल्दै हत्या, आतङ्क बढाउँदै लगेर रामेछापको दोरम्बामा गरिएको नरसंहार जस्ता घटनाक्रम पनि कसैबाट छिपेका छैनन्।

अहिले चन्द–थापाकै विधि, प्रक्रिया र हैसियतको देउवा सरकारले ‘रुपमा भारी भरकम तर सारमा खोक्रो’ वार्ताको चर्चा गरिरहेको छ। वार्ताका निमित्त हैसियत दावी गर्ने देउवासँग हामी निम्न प्रश्नको स्पष्ट उत्तर चाहन्छौं।

के उनीहरु आश्विन १८ को शाही कदम उल्टाएर देशलाई पहिलेकै स्थितिमा लैजान सक्छन् ?, के उनीहरुले दरबार र शाही सेनाका जनरलहरुका इच्छा विपरित संसदीय राजनैतिक दलहरुलाई समेत विश्वासमा लिएर ठोस र आधिकारीक रुपमा वार्ताको विश्वासयोग्य वातावरण बनाउन सक्छन् ?, दिन दिनै जनताका छोराछोरीहरुलाई पकडेर निर्ममतापूर्वक हत्या गर्ने शाही सैनिकको त कुरै छोडौं, के उनीहरु सरकारमै सामेल एमालेका हेमनारायण यादव जस्ता व्यक्तिको हत्या गर्नेहरुलाई कारबाही गर्न सक्छन् ?, के उनीहरु संविधानसभा मार्फत जनतालाई वास्तविक अर्थमा सार्वभौम तुल्याउने प्रतिवद्धता र आचरण प्रदर्शन गर्न सक्छन् ?, के उनीहरु भारतीय शाषकहरुसँग सैनिक सहयोग भीख माग्न छोडेर समस्या समाधानका निमित्त राष्ट्र सङ्घ वा भरपर्दो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थालाई संलग्न गराएर वार्ताको आयोजना गर्न सक्छन् ?, के उनीहरु शाही सेनामाथि आफ्नो नियन्त्रण भएको कुरा सावित गर्न एउटा पनि आधिकारिक व्यवहार प्रदर्शन गर्न सक्छन् ?

घटनाक्रमले यी कुनै प्रश्नहरुको ठोस जवाफ दिने हैसियत देउवा सरकारले राख्दैन भन्ने कुरा मात्र प्रमाणित गरेका छन्। बरु वास्तविकता के मात्र देखिएको छ भने विदेशी ताकतको इसारा र दरबार एवं शाही सेनाको यो निर्देशन मात्र देउवाहरुले पालना गरिरहेका छन् कि “तिमीहरु वार्ताको हल्ला गर्दै गर हामी सैनिक तयारी पूरा गछौं।”

गम्भीर अविश्वास र आशङ्काको यो स्थितिलाई विचार गरेर नै हाम्रो पार्टीले पुरानोे सत्ताका वास्तविक मालिकहरुलाई पर्दाबाट बाहिर ल्याएर वार्ता गर्न आवश्यक ठानेको हो। यदि देउवाहरु वास्तविक अर्थमा नै वार्ताको निमित्त गम्भीर छन् भने अनुत्तरित प्रश्नहरुको उत्तरसहित पर्दा पछाडि रहेर काम गर्नेहरुलाई पर्दा बाहिर ल्याइ वार्ताको ठोस वातावरण तयार पारुन, हामी आउन तयार छौं।

अन्यथा वार्ताको कुरा नेपाल र नेपाली जनताका विरुद्ध षड्यन्त्रको राजनीति मात्र सावित हुनेछ जसका विरुद्ध अन्तसम्म लड्न पनि हामी उत्तिकै तयार छौं।

८ आश्विन २०६१

अध्यक्ष
नेकपा (माओवादी) केन्द्रीय समिति