2004-09-20 - press release - CPN-M२०६१-०६-०४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18929 अभिलेखालय सि. नं.: NCA-18929

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

विभिन्न मानव अधिकारवादी संघ-संस्थाहरू विशेष गरेर एम्नेष्टी इन्टरनेशलनद्वारा खुल्ला पत्रको रुपमा पटक–पटक सर्वसाधारणहरूको अपहरण र वन्दी सम्बन्धी उठाइएका विषयहरूमा हाम्रो पार्टीको गंभीर ध्यानाकर्षण भएको छ।

सर्वप्रथम सर्वसाधारण जनसमुदाय वा कुनै पनि निर्दोष नागरिकहरूलाई विना कारण जबर्जस्ती वा जथाभावी अपहरण गर्ने वा बन्दी बनाउने हाम्रो पार्टीको नीति नभएको र यसप्रकारको अपहरण र बन्दी बनाउने काम समेत नगरिएको स्पष्ट जानकारी गराउन चाहान्छौं। हाम्रो पार्टीद्वारा आयोजित र आह्वान गरिएका कतिपय राजनीतिक भेला, सभा, वा वैठकहरूमा विधार्थी, शिक्षक एवं सबैखाले जनसमुदायको स्वैच्छिक सहभागीतालाई जवर्जस्त अपहरण भनि पुरानो सत्ताले गरेको नियोजित षड्यन्त्र, भ्रम र सफेद झूठको प्रचारलाई आधार बनाई हामी माथि लगाउने आरोपहरूप्रति हाम्रो पूर्ण असमति रहेको छ। बरु सयौं प्रमाणहरूले पुष्टि भएका हजारौं जनसमुदाय एवं निर्दोष नागरिकहरू र हाम्रा पार्टीका निशस्त्र नेता तथा कार्यकर्ताको जवर्जस्त अपहरण, बेपत्ता, निर्मम यातना र हत्या पुरानो सत्ताले गरेको तथ्य प्रति सबै मानवअधिकारवादी संस्थाहरूको हामी ध्यानार्कषित गराउन चाहान्छौं। भर्खरै मात्र हाम्रो केन्द्रीय समितिका सदस्य क.शेरमान कुँवर (विशाल) र क. मोहन चन्द्र गौतम (कुमार) को अपहरण र यातनापछिको हत्या यसको ज्वलन्त उदाहरण हो। यस घटनाको समेत निश्पक्ष छानबिन गर्न हामी सबै मानवअधिकारवादी संस्था एवं व्यक्तित्वहरूलाई अपिल गर्दछौं। पुरानो सत्ताको उपरोक्त तथ्यहीन आरोपहरूमा विश्वास नगर्न समेत हामी संवन्धित सबैसँग अनुरोध गर्दछौं। यस्तो प्रकारको बुझाइले मानविय संवेदनाको तथ्यलाई भन्दा राजनतिक पूर्वाग्रहलाई मात्र प्रोत्साहन गर्दछ।

यसका साथै जनसमुदाय तथा हाम्रो पार्टीका नेता–कार्यकर्ताहरूको हत्या एवं अन्य सामाजिक अपराधमा प्रत्यक्ष संलग्न व्यक्तिहरूमाथिको अनुसंन्धानको कार्यलाई हाम्रो नयाँ जनसत्ता आफ्नो न्यायिक कर्तव्य ठान्दछ। यसप्रकारको अनुसंन्धानको क्रममा ल्याइएका कुनैपनि व्यक्तिसँग उचित मानविय व्यवहार गर्नुको साथै उचित छानबिन पछि छोड्ने गरेको तथ्य पनि सर्वविधितै छ। हाम्रो जिम्मामा रहेका भनिएका केही व्यक्तिहरूको हकमा समेत तथ्यको अनुसंन्धान गरी स्थिति सार्वजनिक गर्ने जानकारी गराउँदछौं। जनताको पक्ष र हितमा गरिने यसप्रकारको न्यायिक कार्यहरूमा यहाँहरू सबैको सक्दो सहयोगको हामी सधैं अपेक्षा गर्दछौं। तथ्यरूलाई भीषण युद्धको जटिल एवं संवेदनशील स्थितिको सापेक्षतामा वस्तुपरक भएर अध्ययन गर्न र सोही अनुसार बुझेर मात्र टिप्पणी गर्न समेत हामी संवन्धित सबैलाई हार्दिक अपिल गर्दछौं।

२०६१ असोज ४ गते

प्रचण्ड
अध्यक्ष ने.क.पा. (माओवादी)