2004-05-31 - press release - CPN-M२०६१-०२-१८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18911 अभिलेखालय सि. नं.: NCA-18911

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

आज देशले दुरगामी र सकारात्मक राजनैतिक निकासको माँग गरिरहेको छ। देशमा विद्यमान प्रमुख राजनैतिक शक्तिहरुको समूचित प्रयास र सहभागिता बिना, जनसुमदायको परिवर्तन, शान्ति र प्रगतिको आकंक्षाले मूर्तरुप लिन संभव छैन। असोज १८ कै प्रतिगामी मान्यता अनुसार कथित संविधानको धारा १२७ अनुसार प्रधानमन्त्रि बन्ने र बनाउने खेलले देशलाई झन अन्यौलपूर्ण र संकटग्रस्त मात्र पार्ने छ। देशमा विद्यमान गृहयुद्धको मूल मुद्धालाई ओझेलमा पार्ने, पुरानो सत्ता र पुरानो संविधान अर्न्तगतका सबै खेलहरुलाई हामीले जनताका विरुद्ध अपराधकारुपमा उचित भर्त्सना गर्दै आएका छौं।

यस सन्दर्भमा पुरानै मान्यता अनुसार कथित प्रधानमन्त्रि बन्ने, बनाउने खेलमा, हामीले अमूक व्यक्तिको समर्थन वा अमूक व्यक्तिको विरोधमा कसैसंग गोप्य चर्चा गर्ने गर्दछौं भनेर चलाइएको प्रचारबाजीलाई झुट्टो र निराधारमात्र होइन अपितु हाम्रो पार्टी र नेपाली जनताको आन्दोलनका विरुद्ध भइरहेको नियेाजित षडयन्त्रकारुपमा भण्डाफोर गर्न चाहान्छौं। साथै हाम्रो पार्टी सर्वपक्षीय सम्मेलन, अन्तरिम सरकार र संविधान-सभाको निर्वाचनको न्यूनतम ऐजण्डाबाट पछि हटेको हो कि भन्ने काल्पनिक प्रचारबाजीलाईपनि हामी दृढतापूर्वक खण्डन र अस्वीकार गर्न चाहान्छौं। नयाँ संविधान निर्माण भन्नुको हाम्रो तात्पर्य संविधान-सभा मार्फत नयाँ संविधान नै रहँदै आएको यथार्थलाई हामी पुनः स्पष्ट गर्दछौ। यसका साथै पुरानो सत्ताले देशलाई यथास्थितिमै राखेर विदेशी साम्राज्यवादको आडमा नेपाल र नेपाली जनतामाथि हत्या र आतंकको श्रृंखला कायम राख्ने धृष्टता गरिरहेमा समग्र जनयुद्धलाई नयाँ रणनैतिक चरणमा उठाउनेबारे पार्टीमा छलफल चलिरहेको तथ्यलाई स्पष्ट पार्दै प्रत्याक्रमणमा जाने अन्तिम निर्णय भइसकेको भन्ने कतिपय पत्र-पत्रिकामा आएको काल्पनिक समाचारकोपनि हामी स्पष्ट खण्डन गर्दछौं।

हाम्रो पार्टी, आफ्नो पछिल्लो वक्तव्यमा भने अनुसार अहिलेपनि देशमा विद्यमान संकटको समाधानकालागि संयुक्त राष्ट्र संघको सहयोगमा सबै राजनैतिक शक्ति र नागरिक समाजका प्रतिनिधिहरुको संयुक्त वार्तामा जोड दिन चाहान्छ। यसबाट, अग्रगामी राजनैतिक निकास र शान्तिको नयाँ प्रक्रिया अगाडि बढ्न सक्ने कुरामा हामीले विश्वास लिएका छौं। अतः पुरानै मान्यतामा कथित प्रधानमन्त्रि बन्ने, बनाउने षडयन्त्रमूलक खेलको भ्रमबाट मुक्त भइ समग्र राजनैतिक निकासको पक्षमा एकजुट हुन हामी देशका सम्पूर्ण जनपक्षीय राजनैतिक शक्ति, नागरिक समाज एवं आम जनसमुदायसंग हार्दिक अनुरोध गर्दछौं।

मितिः- १८ जेष्ठ २०६१

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)