2004-05-16 - press release - CPN-M२०६१-०२-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20998 अभिलेखालय सि. नं.: NCA-20998

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रीय समिति

प्रेस वक्तव्य

नेपाली जनताको प्रजातान्त्रिक परिवर्तन, शान्ति र प्रगतिको आकंक्षा, आज सामन्ती निरंकुशतन्त्रका विरुद्ध देशव्यापि विरोध, आक्रोश र प्रतिरोधकारुपमा व्यक्त भइरहेको छ। प्रतिरोधको यो प्रक्रियाले तत्काल र समुचित राजनैतिक निकासको माँग गरेकोे छ। युद्धरत क्रान्तिकारी शक्ति, आन्दोलनरत संसदवादी शक्ति एवं नागरिक समाज सबैलाई समेट्न सक्ने न्यूनतम राजनैतिक निकास बिना विद्यमान संकटको समाधान नहुने तथ्य पनि स्वंतः स्पष्ट छ। अहिले संसदवादी शक्ति र सामन्ती दरबारीया शक्तिका बीचमा मात्र संझौता गराएर हाम्रो पार्टी र जनयुद्धका विरुद्ध खडा गराउन भइरहेको प्रयासले निकासको होइन, जनतामा फूट पार्ने र गृहयुद्धलाई अझ रक्तपातपूर्ण बनाउने षडयन्त्रलाई मात्र प्रतिबिम्बित गर्दछ। तथाकथित संवैधानिक शक्तिका बीचमा एकताको नारा नेपालमा विद्यमान शक्ति सन्तूलनको वस्तुगत यथार्थलाई अवमूल्यन गरेर समस्यालाई अझ जटील तूल्याउने रुढीवादी नारा बन्न गएको तथ्यलाई सबैले आत्मसात गर्न जरुरी छ। शक्ति सन्तूलनको नयाँ यथार्थलाई प्रतिबिम्बित गर्ने राजनैतिक निकासको दस्तावेजकारुपमा नयाँ संविधान निर्माणको प्रक्रियामा अगाडि बढ्नुको अर्को विकल्प देशमा रहेकै छैन। एकसाथ समाधान हुन सक्ने समस्यालाई टुक्राएर लान खोज्नु आफैमा नयाँ समस्या खडा गर्नु मात्र हुने छ। हाम्रो पार्टी, समस्याको वास्तविक समाधानकालागि संयुक्त राष्ट्र संघको सहयोग लिएर राजासमेत देशमा रहेका सबै राजनैतिक शक्ति र नागरिक समाजका प्रतिनिधिहरुको संयुक्त वार्ताको आयोजना आवश्यक ठान्दछ। त्यो संयुक्त वार्ताले सर्वपक्षीय राजनैतिक सम्मेलनको भूमिका खेल्दै आन्तरिम सरकारको गठन र नयाँ संविधान निर्माणकालागि आधिकारिक र वैधानिक आधारको काम गर्ने छ। हाम्रो विचारमा देशमा विद्यमान समस्याको समाधानमा संयुक्त वार्ताको यो प्रक्रियाले न्यूनतमरुपमा एउटा कोसे ढुङ्गाको भूमिका खेल्न सक्दछ। यो वा त्यो प्रधानमन्त्रीको चयन र सरकार गठनको प्रक्रियाले समग्र राजनैतिक निकास असंभव छ। अतः हाम्रो पार्टी त्यस प्रकारको संयुक्त वार्ताको पक्षमा पहल गर्न पाँच संसदवादी दल लगायत देशका सबै राजनैतिक शक्ति, नागरिक समाज र आम जनसमुदायसंग विशेष अनुरोध गर्दछ।

मिति ः– ३ जेष्ठ २०६१

.....................
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)