2004-05-09 - press release - CPN-M२०६१-०१-२७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18909 अभिलेखालय सि. नं.: NCA-18909

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

संसदवादी र युद्धरत क्रान्तिकारी शक्तिका बीचमा अघोषित कार्यगत एकता सहित नेपाली जनताको गणतान्त्रिक आन्दोलनले निर्णायक अग्रगति लिन थाले पछि, सामन्ती निरंकुश तत्वहरुले, यसमा फूट पार्ने र जनसमुदायलाई भ्रम दिने आफ्नो परम्परालाई दोहोर्‍याँउदै एक पटक फेरी सरकार परिवर्तनको नाटक मञ्चन गर्दै छन्। पुरानो नाटकको यो नयाँ मञ्चन, कथित संवैधानिक शक्तिहरुका बीचमा "एकता" हुनु पर्दछ भन्ने वैदेशिक प्रतिकृयावादी शक्तिहरुको निर्देशन र दबावमा अगाडि आएको छ। प्रतिगामी निरंकुश तत्वहरुलाई आर्थिक र सैन्य आड दिएर नेपाललाई सामन्ती सैनिक अधिनायकवादतिर धकेल्दै आएका संयुक्त राज्य अमेरिका लयागतका शक्तिहरुको यो नयाँ निर्देशन र दरवारीयाहरुका अगाडि खडा भएको सरकार परिवर्तनको बाध्यताले निश्चितरुपले नेपाली जनताको एकताबद्ध आन्दोलनले हाशिल गरेको उचाई र सफलतालाई व्यक्त गर्दछ। तर, संयुक्त राज्य अमेरिका जस्ता वैदेशिक प्रतिकृयावादीहरु र प्रतिगामी सामन्ती दरवारीयाहरुले नेपाल र नेपाली जनताका निमित्त समग्र अग्रगामी राजनैतिक निकास दिन होइन अपीतू पूर्ण प्रजातन्त्रका निमित्त निर्णायक अग्रगति लिंदै गएको आन्दोलनलाई तूहाउने षडयन्त्र अन्तर्गत नै यो नयाँ चाल चलिएको हो भन्ने कुरा कथित दर्शनभेटको श्रृंखला र "स्वच्छ" छविको माँगमा निहित प्रकृतिले नै स्पष्ट गर्दछ।

०७ सालदेखि आजसम्मको राजनैतिक इतिहासले स्पष्ट गरेको छ कि पूर्ण प्रजातन्त्रका निमित्त नेपाली जनताको आन्दोलनले अग्रगति लिन थालेपछि संझौतावादी राजनैतिक नेतृत्वसंग साँठगाँठ गरेर सामन्ती दरवारीयाहरुले निरंकुशतन्त्र थोपर्ने षडयन्त्रमा सफलता प्राप्त गर्दै आएका छन्। इतिहासको यो नकारात्मक पीडादायी र कटू यथार्थबाट शिक्षालिएर सामन्ती तत्वहरुको खेलबाट अलग रही जनताको पूर्ण प्रजातन्त्र प्राप्तिको आन्दोलनलाई सफलताको बिन्दुसम्म पुर्‍याउनु आजको आवश्यकता हो।

आज देशमा भीषण गृहयुद्ध चलिरहेको छ। सर्वाधिक संवेदनशिल बनेको गृहयुद्धको समस्यालाई संवोधन गर्ने राजनैतिक प्रश्नलाई प्राथमिकता नदिई नेपालमा विद्यमान संकटको समाधान संभव छैन। पुरानो संविधानका शक्तिहरुमात्र मिलेर यसको समाधान खोज्नु भनेको देशमा विगतमा झैं संकटकाल दोहोर्‍याइरहनुमात्र हुने जसबाट सामन्ती तत्वहरुलेमात्र फाइदा उठाउने छन्।

इतिहास र जीवनबाट शिक्षालिएर नेपाली जनता र बौद्धिक समुदायले सचेतरुपमा सामन्ती निरंकुशतन्त्रका विरुद्ध गणतन्त्रको आवाजलाई मुखरित गरिरहेका छन्। गृहयुद्धलाई राजनैतिक संवोधन नगरि शान्ति कायम हुनै नसक्ने कुरामा उनिहरु एकमत रहेका छन्। धरातलको यो यथार्थलाई कुनै तर्क र बहानाले अवमूल्यन गर्ने र सामन्ती दरवारसंग साँठगाँठ गर्ने प्रवृत्ति अन्तत: आत्मघातीमात्र हुने छ। राजनैतिक शक्ति सन्तूलनको आजको यथार्थलाई प्रतिबिम्बित र प्रतिनिधित्व गर्ने नयाँ संविधान निर्माणमा सार्वभौम जनताको सहभागिता सूनिश्चित नगरि समस्याले वास्तविक निकास पाउन संभव छैन। यसकालागि हाम्रो पार्टीले, जनसमुदायको सार्वभौम अधिकारलाई सम्मान गर्ने सबै राजनैतिक शक्ति, बौद्धिक समुदाय र नागरिक समाजसंग संवाद र सहकार्य सहित न्यूनतम राजनैतिक सहमती कायम गर्ने प्रश्नलाई पहिलो प्राथमिकता दिन चाहान्छ। सामनती प्रतिगामी तत्वहरु जनयुद्धरत हाम्रो पार्टी र आन्दोलनरत संसदवादी राजनैतिक शक्तिका बीचमा फूट पार्न चाहान्छन् जबकी देश र जनताको हितको आवश्यकता आन्दोदलनरत शक्तिहरुका बीचमा अझ राम्रो एकता कायम गर्न रहेको छ। अत: हाम्रो पार्टी आन्दोलनकारी सबै राजनैतिक दल, जनपक्षीय शक्ति एवं आम-जनसमुदायसंग सामन्ती दरवारका भ्रम र षडयन्त्रमा नफंसी पूर्ण प्रजातन्त्रप्रतिको आन्दोलनलाई निर्णायकरुपमा सफल तूल्याउन हार्दिक अनुरोध गर्दछ।

मिति : - २७ बैशाख २०६१

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)