2004-03-21 - press release - CPN-M२०६०-१२-०८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18892 अभिलेखालय सि. नं.: NCA-18892

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय कार्यालय

प्रेस वक्तव्य

हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी)को नेतृत्वमा परिचालित जनमुक्ति सेनाको पश्चिमी डिभिजनले आफनो एक सफल, साहसिक र केन्द्रिकृत कारवाहीअन्तर्गत हिजो राति ११ बजेदेखि आज दिउँसो १२ बजेसम्म म्याग्दी जिल्लाको सदरमुकामलाई आफनो कब्जामा लिएको छ। केही दिन पहिले मात्र जनमुक्ति सेनाको पूर्वी डिभिजनले भोजपुरमा गरेको सफल केन्द्रिकृत कारवाहीको लगत्तै भएको यो अर्काे गुणात्मक कारवाहीले दुश्मनका तमाम झुट्टा प्रचारहरुको जोडदार खण्डन गर्दै जनयुद्धको विकास र अपराजयतालाई सशक्त रुपले प्रमाणित गरेको छ। म्याग्दी कारवाहीमा जनमुक्ति सेनाले सदरमुकाममा रहेका दुश्मनका सबै प्रमुख कार्यालयहरुलाई आफनो नियन्त्रणमा लिनुको साथै कथित शाही सेनाको एक बटालियन रहेको ब्यारेकलाई क्षत-विक्षत तुल्याउन सफल भएको छ। यो ऐतिहासिक कारवाहीको क्रममा दुश्मनको सयौं सेना प्रहरीको हताहती हुनुको साथै जनमुक्ति सेनाले टु-इञ्च मोर्टार, रकेट लन्चर, एलएमजी, एम-१६, इन्सास, एसएलआर, थ्री नट थ्री लगायत सयौं आधुनिक हतियारहरु, अन्य युद्ध सामग्रीहरु कब्जा गर्न पनि सफल भएको छ। कारवाहीका क्रममा दुश्मनको कथित सिडीयो, डिएसपी लगायत 'सेना–प्रहरी'लाई जनमुक्ति सेनाले आफनो नियन्त्रणमा लिएको छ। पहिले भोजपुर र अहिले म्याग्दीमा भएका ती सफल र साहसिक कारवाहीका निम्ति पार्टी र जनमुक्ति सेनाको जनरल हेडक्वार्टरका तर्फबाट तमाम क्रान्तिकारी योद्धाप्रति हामी हार्दिक अभिवादनका साथ बधाई ज्ञापन गर्दछौं। महान जनयुद्धलाई अर्काे नयाँ उँचाइमा पुर्‍याएर यसको अपराजयलाई सिद्ध गर्न आफनो प्राणको आहुति दिने वि्रगेड भिसी कमरेड योद्धा लगायतका महान अमर शहीदहरुप्रति हामी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।

देशव्यापी रुपमा विकसित भइरहेको विकेन्द्रित फौजी कारवाही र यी पछिल्ला कारवाहीका श्रंृखलाहरुले सामन्ती निरंकुशतन्त्र र उसका लठैतहरुमाथि जनमुक्ति सेनाले आफनो फौजी श्रेष्ठता स्थापित गरेको छ। त्यसले आमूल परिवर्तनसहित अग्रगामी राजनीतिक निकास प्राप्त नगर्दासम्म विकेन्द्रित र केन्द्रित यी फौजी कारवाहीको श्रंखला निरन्तर अघि बढने छ। महान जनयुद्धको विजयलाई सामन्ती दरबारको लठैतहरुले कदापि रोक्न सक्ने छैनन।

प्रचण्ड
नेकपा(माओवादी) का अध्यक्ष एवं सुप्रिम कमाण्डर जनमुक्ति सेना, नेपाल