2004-02-03 - press release - CPN-M२०६०-१०-२० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21001 अभिलेखालय सि. नं.: NCA-21001

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
विशेष क्षेत्रीय संगठन व्यूरो
पूर्वी केन्द्रीय कमाण्ड

प्रेस–वक्तव्य

नेपाली जनयुद्धले आठ वर्ष पार गर्दैछ। यसले तमाम प्रकारका चुनौतिहरुको सामना गर्दै रणनीतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको अवस्थामा प्रवेश गरेको छ। यसै क्रममा अमेरिकी साम्राज्यवादद्वारा निर्देशित शाही अमेरिकी सेना जनमुक्ति सेनासँगको प्रत्यक्ष भीडन्तमा हार्दै र पराजित बन्दै गैरहेको छ। हरेक मोर्चामा पराजित हुँदै विघटनमा पुग्दै गैरहेको अमेरिकी शाही सेनाले आफ्नो पराजयको वास्तविक तथ्यांकलाई लुकाउँदै आफ्नो सेनाको गुमेको मनोबल उकास्न नांगो रुपमा झुट्टा र दुस्प्रचार अभियानलाई तेज बनाइ रहेको छ। प्रत्येक दिन पत्रकार सम्मेलन गर्दै झुट्टा वक्तव्य बाजी गरिरहेको शाही अमेरिकी सेनाको दुश्प्रचारको वास्तविकता जनसमक्ष राख्न आवश्यक देखिएकोले पूर्वी केन्द्रीय कमाण्ड अन्र्तगत विशेष क्षेत्रीय व्यूरो भित्रका सम्पूर्ण फौजी उपलब्धीहरुको वास्तविक विवरण प्रस्तुत गरिएको छ।

दोस्रो चरणको वार्ता भंग भए यता जन मुक्ति सेना नेपालको तर्फबाट दुई साना रेड, पाँच कमाण्डो आक्रमण, एघार एम्बुस, एक एरिया एम्बुस सफलतापूर्वक सम्पन्न भएका छन्। यी कार्यवाहीहरु मध्ये सप्तरी कल्याणपुरको कमाण्डो आक्रमण, उदयपुर चुरेमा भएको रोड माइन, खोटाङ रॉखामा भएको भीडन्त र खोटाङ कै मौरेमा भएको एरिया एम्बुस विशेष उल्लेखनीय छन्। यस बीचमा ठूला र साना गरी आठ भीडन्त यस क्षेत्र भित्र भएका भीडन्त वाक्सिला, छिता पोखरीको भीडन्त बाहेक अरु सबै भीडन्तहरुमा जन मुक्ति सेनाले शाही अमेरिकी सेनालाई परास्त गर्न सफल भएको छ। हालसम्म जन मुक्ति सेनाले इन्सास ३ थान, एस.एल.आर. १ थान, ३–०–३ राइफल १७ थान, एस.एम.जी. २ थान, म्याग्नम राइफल १ थान, सञ्चार सेट २ थान, पेस्तोल रिभल्वर ४ थान कब्जा गर्न सफल भएको छ भने आफ्नो तर्फबाट एस.एम.जी. १ थान, ३–०–३ राइफल २ थान, पेस्तोल १ थान गुमाएको छ। जन मुक्ति सेना नेपालले गरेका यी फौजी कारवाहीहरुमा परी शाही अमेरिकी सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तर्फ १०५ जना र सी.आई.डी, सुराकी १४ जना गरी जम्म ११९ जनाको सफाया भएका छन् भने फौजी कारवाही, भीडन्त र घेरामा परी विशेष क्षेत्रीय व्यूरोका सदस्य क. कमल प्रसाद देवकोटा, सैन्य व्यूरोका सदस्य क. कुशल, डी.सी.एम.हरु क. एकता, क. कविता, क. विवेक, क. शान्तिमान लगायतका जन मुक्ति सेना र पार्टी कार्यकर्ता, समर्थक शुभचिन्तक गरी जम्मा १०२ जना कमरेडहरुले शहादत प्राप्त गर्नु भएको छ। दुश्मनले यस बीचमा निशस्त्र कार्यकर्ता, शुभचिन्तक र जनतालाई पकडेर निर्ममतापूर्वक हत्या गर्ने, बेपत्ता पार्ने काम गरेको छ। सिराहाको चुरेमा विशेष क्षेत्रीय व्यूरोको कार्यालय, प्रकाशन विभाग अन्तर्गतका क. दिवस, सप्लाइ विभागका प्रमुख क. आधार लगायतका होनहार कमरेडहरुलाई गिरफ्तार गरी निर्ममतापूर्वक हत्या गरेको छ भने उदयपुर वाक्सिलामा कलाकारहरुलाई कब्जामा लिइ हत्या गर्ने र बेपत्ता पार्ने काम गरेको छ। जन मुक्ति सेना नेपालले खोटाङको मौरेमा भएको एम्बुसमा कब्जामा लिइएका प्रहरी र प्रशासनिक अधिकारीहरुलाई जेनेभा सन्धि अनुसार स–सम्मान रिहा गरिएको परिप्रेक्ष्यमा हामी मानवअधिकारवादी संघ–संस्थाहरुकोे ध्यान आकृष्ट गर्दै शाही अमेरिकी सेनाले गरेको जेनेभा सन्धि उल्लंघनको भण्डाफोर गर्न हार्दिक अनुरोध गर्दछौं।

अन्तमा, रणनीतिक प्रत्याक्रमणको तयारीमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने पार्टीको निर्देशनलाई मनन गर्दै महान् उपलब्धि हासिल गर्नका लागि उच्च मनोबलका साथ अगाडि बढ्न सम्पूर्ण पार्टी र सैन्य पंक्तिमा हार्दिक अनुरोध गरिन्छ।

मितिः २० माघ २०६०

सुमन
इञ्चार्ज
विशेष क्षेत्रीय संगठन व्यूरो
पूर्वी केन्द्रीय कमाण्ड, ने.क.पा.(माओवादी)