2003-08-24 - press release - CPN-M२०६०-०५-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21091 अभिलेखालय सि. नं.: NCA-21091

ने.क.पा. (माओवादी)
वार्ताटोली कार्यालय

प्रेस–वक्तव्य

क्रान्तिकारी जनयुद्ध र उदीयमान नयाँ सत्ताको नेतृत्व गरिरहेको ने.क.पा. (माओवादी) र संकटग्रस्त पुरानो सत्ताका प्रतिनिधिहरु वीच चलिरहेको शान्तिवार्ता दुइ पक्षवीचको गम्भीर राजनैतिक मतभेदका कारण गतिरोधको अवस्थामा पुगेको सर्वविदितै छ। देशमा युगौंदेखि चुलिंदै आएको वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय अन्तरविरोधको हल गर्न र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न विद्यमान सामन्ती राजतन्त्रात्मक राज्यसत्तामा आमूल परिवर्तन गर्नु अपरिहार्य भएको र नयाँ अग्रगामी राज्यसत्तालाई संस्थागत गर्नको निम्ति आवश्यक नयाँ संविधान निर्माण गर्ने सर्वोत्तम विधि निःशर्त संविधानसभा नै भएको पनि सुस्पष्ट छ। त्यसैले हाम्रो पार्टीले गत वैशाख १४ गते सम्पन्न पहिलो चरणको वार्तामा नै नयाँ अग्रगामी संविधानको मुख्य अन्तर्वस्तु सहित त्यसलाई प्राप्त गर्ने सर्वोत्तम विधिको रुपमा गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनको प्रस्ताव प्रस्तुत गरेको हो। परन्तु पुरानो सत्तापक्षले अहिले तेश्रो चरणको वार्तामा कथित ‘राज्यप्रणाालीमा अग्रगामी सुधार सम्वन्धी अवधारणा’ को नाउँमा विदेशी शक्तिकेन्द्रहरुको आडमा सामन्ती राजतन्त्र र शाही सैनिक अधिनायकवादलाई संस्थागत गर्ने र निरन्तरता दिने गुरुयोजनाकासाथ केही छुद्र स्धारको जलप लगाएको घोर प्रतिगमनकारी एजेण्डा प्रस्तुत गरेकाले वार्तामा यो गतिरोध उत्पन्न भएको हो। यो स्थितिमा हाम्रो वार्ताटोलीको तर्फवाट तेश्रो चरणको वार्ताको अन्त्यमा पुरानो सत्तापक्षले आपनो पश्चगामी एजेण्डा फिर्ता लिएर अग्रगामी राजनैतिक निकासको निम्ति निःशर्त संविधानसभाको निर्वाचनमा जाने तत्परता नदेखाएमा वार्ताप्रक्रियाको कुनै औचित्य नरहेको प्रष्ट पारेको र पछि पुरानो सत्तापक्षले त्यसो गरेमा मात्र सहजकर्ताहरु मार्फत् सात दिन भित्र अर्को चरणको वार्ताको मिति र स्थान टुंगो लगाउने सहमति भएको व्यहोरा हामी यहाँ स्पष्ट गर्न चाहन्छौं। स्मरण रहोस् पुरानो सत्तापक्षले आङ्खनो एजेण्डामा पुनर्विचार गरेर निःशर्त संविधानसभामा जाने तत्परता सहजकर्ताहरु मार्फत् व्यक्त नगरेमा अर्को चरणको वार्ताको औचित्य स्वतः समाप्त हुनेछ भन्ने सो सहमतिको निहितार्थ हो। हामी आङ्खनो तर्फवाट निःशर्त संविधानसभा भन्दा तल ओर्लने कुनै ठाउँ र सम्भावना देख्दैनौं, किनकि देश र जनताको आवश्यकता पूर्ति गर्ने र विद्यमान राजनैतिक शक्तिसन्तुलनलाई ठीक अभिव्यक्ति दिने यो भन्दा उपयुक्त विकल्प तत्काल अर्को छदैछैन। यसवीचमा आदरणीय सहजकर्ताहरु र नागरिक समाजका विभिन्न तह र तप्काले पुरानो सत्तापक्षलाई आङ्खनो अडानमा पुनर्विचार गर्न र अग्रगामी निकासको ढोका खोल्न निम्ति संविधानसभामा जान गर्नु भएको प्रयासको हामी उच्च मूल्यांकन गर्दछौं र तोकिएको हप्ता दिनको अवधिभित्र उपयुक्त निर्णय गर्न थप दवाव दिन हामी आग्रह गर्दछौं। अन्यथा मुखले जतिसुकै वार्तापक्षधर कुरा गरे पनि वस्तुतः पुरानो सत्तापक्षले वार्ताप्रक्रिया भंग गरेको ठहर्नेछ भन्ने हामी पूर्व जानकारी गराउन चाहन्छौं।

२०६०/५/७

( बाबुराम भट्टराई )
स्रयोजक , वार्ताटोली ,
ने.क.पा. ( माओवादी )