2003-05-07 - press release - CPN-M२०६०-०१-२४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20962 अभिलेखालय सि. नं.: NCA-20962

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

देश र जनताका आधारभूत समस्याको शान्तिपूर्ण समाधान पहिल्याउन युद्धविरामको घोषणा देखिनै हाम्रो पार्टी अत्यन्त गंभीरतापूर्वक वार्ता प्रक्रियामा संलग्न रहिआएको छ। शान्ति र प्रगतिको जन आकंक्षा एवं देशको ऐतिहासिक आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर नै हामीले आफ्नो तर्फबाट सत्तापक्ष सामु औपचारिकरुपले न्यूनतम कार्यसूची प्रस्तूत गरिसकेका छौं। प्रतिगमन र यथास्थितिबादका विरुद्ध प्रगतिशिल राजनैतिक, आर्थिक र सामाजिक रुपान्तरणको वस्तूगत आवश्यकता पूर्ति गर्न प्रस्तूत, उक्त कार्यसूचि मार्फत हामीले आफ्नो लचकता र जिम्मेवारीवोधलाई समेत स्पष्ट गरेका छौं। हाम्रो यो गंभीर र जिम्मेवारपूर्ण पहलसंगै देश भित्र र बाहिरका युद्धउन्मादी तत्वहरुको छटपटी र षडयन्त्र पनि बढेर गएको छ। औपचारिक वार्ताको वरिपरि अमेरिका र नेपालका बीचमा गरिएको कथित ”पांच वर्षे आतंकवाद विरोधी समझदारी” अमेरिकाद्धारा हाम्रो पार्टीलाई ”आतंकवादको सूचिमा” राखेको घोषणा, नेपाल स्थित अमेरिकी राजदूतद्धारा खुलेआम दिइने गरेको धम्कि तथा शाही सेनाद्धारा ओखलढुङ्गामा हाम्रा दुई योद्धाहरुको निर्मम हत्या र भर्खरै नयां हतियार र तालिमका कारण आफ्नो युद्धक्षमता बढेको प्रचारले उक्त छटपटी र षडयन्त्रलाई मात्र स्पष्ट गर्दछ।

आखिर अमेरिकाले शान्तिवार्ता अगाडि बढिरहेको वर्तमान सन्दर्भमा त्यसप्रकारका उत्तेजनापूर्ण बयान र कृयाकलापलाई किन तिव्र पारिरहेको छ ? के उसले नेपाल र नेपाली जनताको हितमा यसो गरिरहेको छ ? कदापी होइन π वास्तवमा उ नेपाललाई मुठ्ठीमा राखेर चिन र भारत लगायत दक्षिण एशियामा प्रभुत्व कस्दै लैजाने आफ्नो साम्राज्यवादी रणनीति लागु गर्न चाहान्छ। त्यसकारण उ शान्तिवार्ता मार्फत नयां स्वतन्त्र एवं स्वाभिमानी नेपालको विकास नहोस् भन्ने चाहान्छ। किनकी त्यसप्रकारको नेपाल अमेरिकी रणनीतिको हिस्सा हुने छैन।

हामी अमेरिकालाई नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि हस्तक्षेप गर्ने सम्पूर्ण कृयाकलाप बन्द गर्न आग्रह गर्दछौं। न्याय, समानता र स्वतन्त्रता निमित्त छटपटिरहेका जनतालाई आतंकवादको सूचिमा राखेर विश्व प्रभूत्वको अहंकार प्रदर्शन गर्नुको सट्टा धरतीका विशाल बहुसंख्यक मानव समुदाय आज अमेरिकालाई नै विश्वको १ नम्बरको आतंकवादी देश भनेर किन सडकमा उत्रिरहेका छन् भन्ने कुरा विचार गर्नु उनिहरुकालागि राम्रो हुने छ। विश्व इतिहासको फैशला अन्ततः आधुनिक हातहतियारले होइन जनसमुदायले नै गर्दछन्।

त्यसै गरि अमेरिकाले दिएका २।४ नयां हतियारले नेपाली जनतालाई तह लगाउन सकिन्छ भन्ने तूच्छ अहंकार त्याग्न हामी शाहि सेनाका ती प्रवक्तालाई पनि आग्रह गर्दछौं। भरुवा बन्दुक पनि नभएको अवस्थाबाट शुरु गरिएको जनयुद्ध आज शाही सेनाकै हतियारद्धारा लैश छ र यदि शान्तिवार्ता भांडेर हामीलाई वाध्य पारियो भने छिटै ती २।४ नयां हतियार पनि जनताकै कब्जामा हुने कुरा निश्चित छ। जनयुद्धको विशेषतालाई सबैले समयमै बुज्दा राम्रो हुने छ। हामी नेपाली जनताको रगत अब नबगोस भन्ने चाहान्छौं। हामी शान्तिपूर्ण निकास चाहान्छौं। त्यसका निमित्त हामी हदैसम्म लचिलो भएका छौं। तर, यसलाई कसैले हाम्रो वा नेपाली जनताको कमजोरी सोचेको छ भने उसले ठूलो भूल गरिरहेको हुने छ। अन्तमा हाम्रो पार्टी वार्ता भांड्ने देश भित्र र बाहिरका युद्धउन्मादी तत्वहरुका विरुद्ध एकजूट भई वार्तालाई सफलतामा टु¨याउन सम्पुर्ण देशभक्त र जनपक्षीय शक्ति एवं आम जनसमुदायसंग हार्दिक अपील गर्दछ।

मिति ः– २४ बैशाख २०६०

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी) के.स.