2003-03-20 - press release - CPN-M२०५९-१२-०६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18778 अभिलेखालय सि. नं.: NCA-18778

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

दोस्रो विश्व युद्ध पश्चात निर्मित संयुक्त राष्ट्र संघ, अन्तराष्टि्रय मूल्य–मान्यता र विश्व जनमतलाई लत्यांउदै अमेरीकि र साम्राज्यवादले एउटा सार्वभौम देश इराकमाथि हिटलरको शैलीमा हमला बोलेको छ। इराकको तेल भण्डार कब्जा गर्ने तथा "डलर"का तूलनामा "यूरो"को बढ्दो प्रभावको मुकाबिला गर्दै एक ध्रुवीय विश्वका नाममा आफ्नो एकछत्र लूट र प्रभुत्व कायम गर्ने रणनैतिक षडयन्त्र अन्तर्गत यो भीषण फाशिवादी हमला भइरहेको कुरा स्पष्ट छ। तर, आधुनिक हतियार र फौजको बलमा, शान्ति र स्वतन्त्रता प्रति जन–समुदायको सचेत आकंक्षालाई दबाएर राख्ने साम्राज्यवादी रणनीति कहिल्यै पुरा हुने छैन।

साम्यवादको तथाकथित अन्त र शान्तिको नयां युगको आरम्भ भएको राग अलाप्ने साम्राज्यवादका यी नाइकेहरुले भित्र भित्रै भीषण युद्धको तयारी गरिरहेको तथ्य विश्वका सचेत जन–समुदाय को नजरबाट कहिल्यै छिपेको थिएन। आज घटनाक्रमले साम्राज्यवाद भनेकै युद्ध हो र यसको सर्वनास नहुंदासम्म मानवजातीकालागि शान्ति र स्वतन्त्रता अंसभव छ भन्ने मा.ले.मा.को वैज्ञानिक निष्कर्षको पुनर्पुष्टिमात्र गरेको छ।

हाम्रो पार्टी, इराकी जनताको सार्वभौम अधिकारमाथि भइरहेको यो फाशिवादी हमलाको घोर भर्त्सना गर्दै साम्राज्यवादका विरुद्ध अगाडि बढिरहेको विश्वब्यापि जन–पहलको जोडदार समर्थन गर्दछ। इतिहास र विज्ञानले प्रमाणित गरे अनुसार तथा मा.ले.मा.को सिद्धान्त अनुसार विश्वब्यापि जन–युद्धको माध्यमबाट मात्र साम्राज्यवादलाई धुलो चटाउन तथा मानव जातीकालागि शान्ति र स्वतन्त्रताको वास्तविक विश्व निर्माण गर्न संभव हुने छ। विश्व–साम्राज्यवादको यो नयां मुर्खता र अपराधका विरुद्ध २१औं शताब्दीको नयां जन–युद्धको विकास हुने र त्यो विजयी बन्ने कुरा निश्चित छ।

आज विश्वमा रिम लगायतका कम्युनिष्ट क्रान्तिकारीहरुले साम्राज्यवादका विरुद्ध विश्वव्यापि जन–युद्धको विकास गर्न महत्वपूर्ण वैचारिक र भौतिक संघर्षको तयारी गरिरहेका छन्। हाम्रो पार्टीको नेतृत्वमा अघि बढेको महान जन–युद्ध वस्तुत: त्यहि विश्व अभियानको एउटा गौरवशाली हिस्सा हो। "साम्राज्यवादले आफ्नो खुट्टामा वजार्नकालागि ढुङ्गा उचाल्छ" भन्ने तथ्यलाई आत्मसात गर्दै यो फासीवादी युद्धका विरुद्ध अघि बढ्नु आजको आवश्यकता हो। साम्राज्यवादी युद्धका विरुद्ध विश्वव्यापिरुपमा देखा परेको जन–समुदायको पहलकदमीलाई जन–युद्धमा विकास गरि नयां विश्व निर्माण गर्ने भौतिक परिस्थिति अझ परिपक्व हुंदै गएको छ। अत: हाम्रो पार्टी साम्राज्यवादी युद्धको जन–संघर्ष र जन–युद्धद्धारा विरोध गर्न देश भित्र र बाहिरका आम जन–समुदायसंग हार्दिक अपील गर्दछ।

मिति : – ६ चैत्र २०५९
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(ाओवादी)केन्द्रिय समिति