1997-04-00 - document - CPN-M२०५३-१२-०० - दस्तवेज - नेकपा-मा

Archive ref no: NCA-18643 अभिलेखालय सि. नं.: NCA-18643

जनयुद्धको दोस्रो रणनैतिक योजनाको समीक्षा एवं तेस्रो योजनाको प्रस्ताव

(ने.क.पा. (माओवादी)को २०५४ मा बसेको केन्द्रीय समितिको वैठकमा पारित।)

  1. भूमिका
  2. जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू
  3. योजनाबारे
  4. लक्ष्यहरू

आफ्नो विकासको क्रममा नयाँ वस्तुले हमेसा अप्ठ्याराहरू र क्षतिको अनुभव गर्नै पर्छ। यो सोच्नु एक खोक्रो कल्पना मात्र हो कि बिनाकठिनाइ र क्षतिबिना, अथक प्रयत्नबिना नै सरल र सहज रूपमा समाजवादको लक्ष्य प्राप्त हुनेछ।" - क. माओ

प्रिय कमरेडहरू,

आज हाम्रो अगाडि तीर्थ गौतम, विजय घले लगायतका दर्जनौ सर्वहारावादी योद्धाहरूको प्राणोत्सर्ग नेपाली जनताका हजारौं छोराछोरीहरूद्वारा दुस्मनको जेलनेल र चरम यातनाको प्रतिकार एवं लाखौंलाख जनसमुदायको प्रत्यक्ष सहभागितासहित नेपाली धर्तीमा अभूतपूर्व हलचल पैदा गर्दै गुणात्मक रूपले विकास भइरहेको महान् जनयुद्धको गौरवशाली अठार महिनाका अनुभवहरूको संश्लेषण गर्ने तथा आगामी चुनौतीहरूको सामना गर्न उपयुक्त रणनीति तयार पार्ने गुरुत्तर कार्यभार रहेको छ। नेपाली समाजको वर्गसङ्घर्षको गुणात्मक विकासको अनिवार्य परिणामका रूपमा पार्टीको अन्तरसङ्घर्षले पनि गुणात्मक विकास गरिरहेको वर्तमान परिवेशले बाहिरी र भित्री अन्तरविरोधहरूको जटिलताद्वारा खडा गरिएका सकरात्मक, नकरात्मक चुनौतीहरूको सामना गर्न एकता-सङ्घर्ष-रूपान्तरणको द्वन्द्वात्मक प्रक्रियालाई अझै नयाँ उचाइबाट आत्मसाथ गर्ने तथा त्यसको व्यवहारिक प्रयोग गर्ने प्रश्न हाम्रो लागि भारी महत्त्वको प्रश्न हुनआएको छ। "क्रान्तिले आफ्नो विकासको क्रममा आफैं असाधारण जटिल परिस्थितिको सिर्जना गर्दै अगाडि बढ्छ।" भन्ने महान् लेनिनका अभिव्यक्तिहरूको वैज्ञानिक सच्चाइलाई हामीले आफ्नो व्यवहारिक अनुभवद्वारा पुष्टि भइरहेको पाएका छौं। वर्गसङ्घर्ष र आत्मसङ्घर्षको सामना गर्न र त्यसरी वर्गसङ्घर्ष र अन्तरसङ्घर्षलाई अर्को नयाँ उचाइमा उठाउन गम्भीर जिम्मेवारी केन्द्रीय समितिको यो बैठकका अगाडि उपस्थित छ।

दोस्रो राजनीतिक योजना कार्यान्वयनको समीक्षा

(क) निर्धारित मूल नारा र लक्ष्यका दृष्टिले योजनाको समीक्षा

"योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौं !" भन्ने दोस्रो योजनाको मूल नारा व्यवहारतः सही सावित भएको छ। एउटा ठूलो धक्का र विद्रोहात्मकरूपमा पहल गरिएको जनयुद्धको महान् प्रक्रियालाई छापामार युद्धको रणनैतिक महत्त्वअन्तर्गत दीर्घकालीन ढाँचामा अगाडि बढाउन उक्त नाराले महत्त्वपूर्ण भूमिका खेलेको छ। यसले एकातिर विजयको मानसिकताबाट सम्भावित दुस्साहसवादी परिणाम र अर्कोतिर आत्मसुरक्षावादको मानसिकताबाट सम्भावित आत्मर्समर्पणको खतराबाट बचाएर जनयुद्धलाई अगाडि बढाउने सही दिशाबोधको प्रतिनिधित्व गरेको कुरा स्पष्ट भएको छ।

दोस्रो योजनाको पहिलो लक्ष्य 'छापामार युद्धका पक्षमा व्यापक जनपरिचालन गर्नु' रहेको थियो। परिणाममा यो लक्ष्य पार्टीले अपेक्षा गरेको स्तरभन्दा अझ व्यापकरूपमा हासिल भएको छ। सङ्गठन र सङ्घर्षका विविध रूपहरूको प्रयोगद्वारा पश्चिमाञ्चल क्षेत्रीय कमाण्डअन्तर्गतका मुख्य इलाकाहरूमा जनयुद्धको पक्षमा विकास भएको अभूतपूर्व जनसहभागिताले सिङ्गो युद्धलाई नयाँ उचाइमा उठाइदिएको छ। आफ्नो स्थिति र विशिष्टताअनुसार अन्य क्षेत्रीय कमाण्डअन्तर्गत पनि जनपरिचालनको लक्ष्य उत्साहबर्द्धक ढङ्गले हासिल भएको छ।

योजनाबद्ध रूपले हतियार कब्जा गर्ने योजनाको दोस्रो लक्ष्य अपेक्षितरूपमा पूरा हुन सकेन। सामन्त, जालीफटाहा, दुस्मनको पुलिस चौकी, एवं अन्य कतिपय स्रोतहरूबाट सामान कब्जा गर्ने काममा सफलता र महत्त्वपूर्ण अनुभवहरूको कमी, अप्रत्यासित प्रतिकूलता, प्राविधिक तयारीको कमी तथा कतिपय अवस्थामा चिन्तनगत कमजोरीका कारण यो लक्ष्य आंशिकरूपमा मात्र सफल भएको छ। यसबारे कारबाहीका रूपहरूको प्रयोगका सन्दर्भमा ठोस चर्चा गर्नेछौं।

योजनाको तेस्रो र प्रमुख लक्ष्य पश्चिम, मध्य र पूर्वाञ्चल क्षेत्रका निश्चित इलाकाहरूलाई छापामार इलाकामा बदल्न पार्टीका सम्पूर्ण क्रियाकलापहरूलाई कन्द्रित गर्नु थियो। जुन पश्चिमाञ्चल क्षेत्रीय कमानअन्तर्गत अपेक्षा गरिएभन्दा शानदार ढङ्गले सफल भएको र विकासको असमान स्थितिअनुसार लक्ष्य प्राप्तिको स्तर फरक-फरक रूपमा अभिव्यक्त हुनु स्वभाविक हो, तर सचेत प्रयत्नका दृष्टिले यो लक्ष्य प्राप्त गर्न पार्टीका तर्फबाट सक्दो पहल गरिएको तथ्य उत्साहबर्द्धक रहेको छ।

(ख) कारबाहीका रूपहरू र तिनका प्रयोगका दृष्टिले योजनाको समीक्षा

प्रचारात्मक कारबाही :- प्रचारको सशस्त्र एवं अन्य रूपहरूको कार्यान्वयनमा दोस्रो योजनाको अपेक्षा सफल भएको छ। जनयुद्ध योजनाका पक्षमा राष्ट्रिय एवं एक निश्चित सीमासम्म अन्तर्राष्ट्रिय जनमत तयार पार्ने प्रचारात्मक कारबाहीका विविधरूपहरूको सिर्जनात्मक प्रयोगले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। सङ्ख्यात्मक दृष्टिले कारबाहीका अन्य रूपहरूको तुलनामा प्रचारात्मक कारबाहीहरू आवश्यकीय र स्वभाविक हिसाबले नै गुणात्मक रूपमा बढी हुन गएका छन्। यसबीचमा सशस्त्र प्रचारका दृष्टिले पश्चिमाञ्चल कमाण्डका मुख्य इलाका र निःशस्त्र प्रचारका दृष्टिले उपत्यकाञ्चलको भूमिका विशेष उल्लेखनीय रहन गएका छन्। यस सन्दर्भमा सशस्त्र प्रचार, जनपरिचालन, स्थानीय जालीफटाहामाथि साना-ठूला कारबाही र सङ्गठन विस्तारको केन्द्रीकृत अभियानका रूपमा पश्चिमाञ्चलका मुख्य इलाका त्यसमा पनि मुख्यतः रुकुम जिल्लाबाट विकसित भएको "सशस्त्र विस्तार अभियान" (स्वेत इलाका कब्जा अभियान) को शानदार गुणात्मक परिणाम प्राप्त भएको छ। ती अनुभवहरूबाट सिक्न सबै क्षेत्रहरूले आ-आफ्नो विशेषता अनुसार सिर्जनात्मक रूपले प्रयोग गर्न जरुरी छ। यसरी दोस्रो योजना सफल पार्न प्रचारात्मक कारबाहीको गुणात्मक भूमिका रहेको तथ्य स्पष्ट नै छ। तर आत्मगत रूपले प्रचारात्मक कारबाही र तिनका विविध रूपहरूको प्रयोग अँझै आवश्यक मात्रामा वैज्ञानिक, कलात्मक र व्यवस्थित भने हुन सकेका छैनन्।

सेबोटेज :- दुस्मनको मनोबल गिराउने एवं आर्थिक रूपले क्षति पुर्‍याउने, जनताको मनोबल बढाउने तथा फौजी ढङ्गले प्रचारात्मक भूमिका निभाउने क्रममा सेवोटेजको ठुलो महत्त्व रहेको छ। दोस्रो योजना अन्तर्गत अपेक्षित कारबाहीको यो रूप पनि प्रभावकारी ढङ्गले नै सफल भएको छ। उपत्यका देखि देशका सबै क्षेत्रहरूमा सवोटेजले राम्रो उत्साहबर्द्धक परिणाम निकालेको छ। साना ठुला सबै कारबाहीहरू जोड्दा सङ्ख्यात्मक दृष्टिले सामान्यतः दोस्रो योजनाको अपेक्षालाई पनि यसले नै उछिनेको छ र प्रचारात्मक कारबाहीपछि यो दोस्रो स्थानमा रहेको छ। साना-ठूला विस्फोटन, आगजानी, घरेलु विधिद्वारा तोडफोड एवं दुस्मनलाई धेरथोर आर्थिक क्षति पुर्याउने काम कारबाहीको यो रूप योजनाअन्तर्गत नै भएका छन्।

छानिएका वर्गदुस्मनको सफाया :- दोस्रो योजनाको कार्यान्वयन प्रक्रियाबाट मात्र व्यवस्थित रूपमा आरम्भ गरिएको कारबाहीको रूप प्रभावशाली ढङ्गले कार्यान्वयन भएको छ र मूलतः सफल भएको छ। धेरथोररूपमा पश्चिम, मध्य र पूर्वका तीनवटै क्षेत्रीय कमाण्डअन्तर्गत यसको प्रयोग भएको छ। तर सबैभन्दा प्रभावशाली रूपमा यसको प्रयोग पश्चिमाञ्चलको मुख्य इलाकामा नै भएको छ। आम जनतालाई गोलबन्द गर्ने तथा स्थानीय रूपमा प्रतिक्रियावादी सत्ताको जरा काटेर सत्ता सन्तुलनको स्थिति सिर्जना गर्न यो रूपले महत्त्वपूर्ण भूमिका खेलेको छ। यसअन्तर्गत मुख्य इलाका र त्यसमा पनि मुख्यतः रुकुम, पूर्वी कमाण्डअन्तर्गत धनुषाको कुख्यात र हत्यारो स.ई. को सफाया पर्दछन्। अत्यन्त संवेदनशील र उत्साहबर्द्धक कारबाहीको यो रूपको प्रयोगमा अँझै पनि पर्याप्त गम्भीरता र स्पष्टता भने आइसकेको छैन।

त्यसका लागि निम्न कुरामा ध्यान दिन जरुरी छ :


]